Tuesday, August 11, 2026
गौँथली’ चलचित्रको आलोचनात्मक विमर्श
Wednesday, May 13, 2026
कर्णालीको सीमान्तकृत मस्टो परम्परा र राज्य प्रायोजित संस्कृतिकरण: देउती बज्यैको मानवशास्त्रीय तथा ऐतिहासिक अध्ययन - डिकेन्द्र ढकाल
प्रस्तुत आलेखमा मैले सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यैको उत्पत्ति र यसको ऐतिहासिक विकासक्रमलाई मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको छु। यसमा मैले मूलतः वैदिक “देवता” र रैथाने “देउता” बीचको भाषिक, अनुष्ठानिक र मनोवैज्ञानिक भिन्नतालाई आधार मानेको छु। यसै आधारमा कसरी एक आदिवासी राजी समुदायको प्रकृति पूजक परम्परा समयक्रममा राज्यसत्ताको प्रभाव र संस्कृतिकरणको प्रक्रियामार्फत मूलधारको हिन्दु शक्तिपीठमा रूपान्तरण भयो भन्ने विषयमा छलफल गरेको छु। यस अध्ययनमार्फत मैले कर्णालीको रैथाने परम्परामा देउता लाग्ने र भोग पाएपछि सन्तिने लौकिक चरित्रलाई देउती बज्यैको अभ्यासमार्फत पुष्टि गर्दै उनी वैदिक भगवती नभएको तथ्य उजागर गरेको छु। यसका साथै पञ्चायतकालीन राज्य निर्माण, तत्कालीन राजा वीरेन्द्रको क्षेत्रीय विकास अवधारणा र सरकारी पहलहरूले यस देउती थानलाई कसरी संस्थागत र राष्ट्रिय स्वरूप प्रदान गरे भन्ने ऐतिहासिक तथ्यहरूको समेत विश्लेषण गरेको छु।
प्रस्तावना:
देवता र देउता बीचको सत्ता विमर्श कुनै पनि धार्मिक अनुष्ठान वा शक्तिपीठको निर्माण आध्यात्मिक विषय मात्र नभएर त्यो तत्कालीन समाजको शक्ति सन्तुलन, सांस्कृतिक अन्तरघुलन र राज्यको विचारसँग जोडिएको हुन्छ। कर्णाली र सुदूरपश्चिमको समाजशास्त्रीय अध्ययन गर्दा “देवता” र “देउता” बीचको सूक्ष्म र गम्भीर भिन्नतालाई बुझ्न नितान्त आवश्यक छ। देवता मूलतः संस्कृत वाङ्मय र हिन्दु कथाबाट निर्देशित अवधारणा हो, जसलाई वैदिक कर्मकाण्ड र ब्राह्मण पुरोहिततन्त्रले वैधानिकता दिन्छ। अर्कोतर्फ, देउता खस आर्य र स्थानीय आदिवासीहरूको विशुद्ध रैथाने मस्टो (कर्णाली क्षेत्रको प्रकृतिमा आधारित धामी-झाँक्री परम्परा) वा प्रकृति पूजक परम्पराको उपज हो। देउती बज्यैलाई यही रैथाने देउता परम्पराको स्त्रीलिङ्गी रूप अर्थात् देउतीको कसीमा राखेर हेर्नुपर्दछ। यो कुनै वैदिक भगवती नभएर कर्णालीको माटो, जङ्गल र पानीको पहरेदार स्थानीय मातृ पुर्खाको लौकिक प्रतिविम्ब हो।
लाग्ने र सन्तिने मनोविज्ञान:
वैदिक र लौकिक प्रकृतिको द्वन्द्व देउती बज्यै विशुद्ध रूपमा वैदिक भगवती होइनन् भन्ने कुराको सबैभन्दा बलियो मानवशास्त्रीय प्रमाण कर्णाली भेगको 'लाग्ने' र 'सन्तिने' (सन्तुष्ट हुने) विश्वास पद्धति हो। वैदिक हिन्दु परम्पराका देवीदेवताहरू सामान्यतया पारलौकिक कल्याण, मोक्ष वा सात्विक अनुग्रहसँग जोडिन्छन्। यसैगरी कर्णालीको मस्टो तथा रैथाने देव परम्परा नितान्त लौकिक, मानवीय आवेगले भरिएको र केही हदसम्म प्रतिशोधात्मक प्रकृतिको हुन्छ। यस भेगका देउताहरू कुनै त्रुटि, अशुद्धि वा वाचा बन्धन तोडिँदा रिसाउने, मानिसलाई दुःख दिने, शारीरिक वा मानसिक रूपमा बिरामी गराउने र मानव शरीर वा परिवारमा सिधै लाग्ने गर्दछन्। यसरी लागेको वा रिसाएको देउतालाई शान्त पार्न सात्विक मन्त्रले मात्र पुग्दैन। यसका लागि अनिवार्य रूपमा धजा, अछेता वा जीवबलि अर्थात् भोग चढाउनुपर्ने हुन्छ। जब देउताले भोग पाउँछन्, अनि उनीहरू सन्तुष्ट भई सन्तिने र लागेको दुःख र बिराम तत्काल हट्ने गहिरो यथार्थपरक अभ्यास यस क्षेत्रमा छ। देउती बज्यैको मन्दिर परिसर र भक्तजनहरूको मनोविज्ञानमा आज पनि यही लाग्ने र सन्तिने मान्यता हुबहु लागू हुन्छ। कसैले भाकल नबुझाउँदा वा त्रुटि गर्दा देउती लागेको र बिरामी परेको जनविश्वास व्यापक छ। त्यसपछि मन्दिरमा उपस्थित भई धजा, अछेता, घन्ट, बोका, कुखुरा वा पाठीको भोग दिएपछि मात्र देउती सन्तिने र कष्ट निवारण हुने अनिवार्य सर्त रहेको छ। यसै सर्तले देउती बज्यैलाई हिन्दु ग्रन्थकी शालीन भगवतीभन्दा पनि कर्णालीकै उग्र र लौकिक मस्टो धामी परम्पराकी रैथाने मातृशक्तिकै रूपमा प्रमाणित गर्दछ।
धामी धमिनी परम्परा र राजी समुदायको जीववाद
यस अनुष्ठानिक चरित्रलाई राजी समुदायको ऐतिहासिकतासँग जोडेर हेर्दा थप स्पष्टता आउँछ। सुर्खेत उपत्यका र आसपासका क्षेत्रमा प्राचीन कालदेखि बसोबास गर्दै आएको राजी समुदायको मुख्य जीवनपद्धति जङ्गल र नदीमा आश्रित थियो। आदिवासी जीववाद (प्रकृतिका हरेक तत्त्वमा प्राण वा शक्ति हुन्छ भन्ने आदिम विश्वास) का अनुसार प्रकृतिका हरेक तत्त्वमा शक्ति हुन्छ। राजीहरूले जङ्गलमा फेला पारेको अमूर्त शिलालाई दैवीकरण गर्नु उनीहरूको प्रकृतिप्रतिको त्यही आदिम विश्वासको उपज थियो। कर्णालीको मस्टो परम्परामा देउता शरीरमा धारण गर्ने पुरुषलाई 'धामी' र समाजले आदरपूर्वक 'बाजे' भन्ने चलन छ भने स्त्री शक्ति धारण गर्ने महिलालाई 'धमिनी' र आदरार्थी रूपमा 'बज्यै' भनिन्छ। यही भाषिक र सांस्कृतिक निरन्तरताको कडीस्वरूप उक्त मातृ शक्तिलाई देउती र बज्यै भनिएको हो।
संस्कृतिकरणको प्रक्रिया र सांस्कृतिक मिलन
जब कर्णाली र भेरी क्षेत्रमा खस साम्राज्य र पछि गोर्खाली राज्यसत्ताको विस्तार भयो, अनि स्थानीय आदिवासी परम्पराहरूलाई राज्यको मूलधारमा समाहित गर्ने अव्यक्त रणनीतिको सुरुवात भयो। भारतीय समाजशास्त्री एम. एन. श्रीनिवासले अघि सारेको 'संस्कृतिकरण' (स्थानीय वा तल्लो तहका परम्पराले माथिल्लो हिन्दु जातिका मूल्यमान्यता अपनाउने प्रक्रिया) को सिद्धान्त अनुरूप देउती बज्यैको रैथाने थानले पनि बिस्तारै हिन्दुकरणको आवरण ग्रहण गर्दै गयो। प्रकृति र पुर्खाकी देउतीलाई हिन्दु दुर्गा वा भगवतीको रूपमा व्याख्या गरियो। यस संस्कृतिकरणको प्रक्रियामा पनि आदिवासी प्रभाव कायमै रह्यो। एकातिर राजी समुदायले आफ्नो जन्मजात पुरोहित्याइँको अधिकारलाई निरन्तरता दिए भने अर्कोतिर देउती लाग्ने र भोग दिएपछि सन्तिने मस्टो चरित्रले मन्दिरको मूल अनुष्ठानलाई निर्देशित गरिरह्यो। यो एक अद्वितीय सांस्कृतिक मिलन हो, जहाँ हिन्दुकरणको आवरणभित्र आदिवासी जीववाद र कर्णालीको रैथाने मनोविज्ञान एउटै थानमा सँगसँगै बाँचिरहेको छ।
राज्यको हस्तक्षेप, राजा वीरेन्द्रका सवारी र संस्थागत विकास
देउती बज्यैको आधुनिक र संस्थागत विकासमा नेपालको पञ्चायतकालीन राज्य व्यवस्था र शाहवंशीय राजसंस्थाको प्रत्यक्ष प्रभाव रहेको छ। तत्कालीन राजा वीरेन्द्रले देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरेपछि सुर्खेतको वीरेन्द्रनगर मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम बन्न पुग्यो। राज्यसत्ताले आफ्नो उपस्थिति बलियो बनाउन विकासका साथसाथै स्थानीय धार्मिक आस्थाका केन्द्रहरूलाई पनि संरक्षण गर्ने नीति लियो। वि.सं. २०३० को दशकमा राजा वीरेन्द्रबाट मध्य-पश्चिमको भ्रमणका क्रममा सुर्खेतमा रहेका मुकाम र उनका नियमित सवारीहरूले यस क्षेत्रको राष्ट्रियकरणमा ठूलो भूमिका खेले। राजा वीरेन्द्रको सवारीका समयमा स्थानीय सम्पदाहरूको अवलोकन गर्ने परम्परा अनुरूप देउती बज्यैले पनि प्रत्यक्ष राज्य संरक्षण प्राप्त गर्यो। रैथाने थानलाई व्यवस्थित मन्दिरको स्वरूप दिने, भौतिक पूर्वाधार निर्माण गर्ने र गुठी संस्थानको दायरामा ल्याउने सरकारी पहलहरू यही कालखण्डमा तीव्र रूपमा अगाडि बढे। राज्यले यसलाई राजी समुदायको पुर्खा थानबाट माथि उठाएर समग्र मध्य-पश्चिमकै शक्तिपीठको रूपमा स्थापित गर्यो, जसले गर्दा यो मन्दिर सबै हिन्दु धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बन्न पुग्यो र यसको स्थानीय चरित्रमाथि राष्ट्रिय भगवतीको मानक थपियो।
निष्कर्ष
देउती बज्यैको ऐतिहासिक र सामाजिक विकासक्रमले नेपालको सीमान्तकृत आदिवासी पहिचान र राज्य प्रायोजित मूलधारको हिन्दुत्व बीचको जटिल र समन्वयात्मक सम्बन्धलाई उजागर गर्दछ। देउता लाग्ने, मानिसलाई दुःख दिने र भोग पाएपछि सन्तिने कर्णालीको उग्र मस्टो मनोविज्ञानले देउती बज्यै वैदिक भगवती नभएर विशुद्ध रैथाने देउती हुन् भन्ने अकाट्य प्रामाणिकता पेस गर्दछ। राजी समुदायको पुरोहिततन्त्र र जीववादको गर्भबाट जन्मिएकी यी देउती, पछि राजा वीरेन्द्रको विकास क्षेत्रको अवधारणा र गुठी संस्थानको सरकारी पहलसम्म आइपुग्दा एक पूर्ण संस्थागत र राष्ट्रिय शक्तिपीठमा परिणत भएकी छन्। तसर्थ, देउती बज्यैको अध्ययन एक धार्मिक स्थलको वर्णन मात्र होइन। यो त नेपालको राज्य निर्माण, संस्कृतिकरण र उपेक्षित लोक परम्पराले आफ्नो मौलिक अस्तित्व र मनोविज्ञान जोगाउन गरेको ऐतिहासिक सङ्घर्षको महत्त्वपूर्ण समाजशास्त्रीय दस्तावेज हो।
Tuesday, February 10, 2026
आई लभ यु डार्विन!
सप्ताहान्तका अन्तिम दिन आइतबार ज्वाइँ र म स्थानीय 'सन्डे मार्केट' तिर लाग्थ्यौँ। त्यहाँका ताजा तरकारीका स्टल र मानिसहरूको चहलपहलले मलाई डार्विनको वास्तविक जनजीवनसँग साक्षात्कार गराउँथ्यो। त्यो शनिबार र आइतबारमात्र लाग्ने बजारमा नेपालीहरू पनि धेरै आउँदा रहेछन् कृषककै बारीमा फलाइएका अनेकौँ थरी स्थानीय तरकारी र फलफूल किन्न। राति अबेरसम्म बसिने भएकोले बिहानको जीवन सबैको अलि ढिलो सुरु हुन्थ्यो। सबै हलिडे मुडमा। ज्वाइँ र म भने जति बजे सुते पनि बिहान चाँडै नै उठ्ने बानी! घरको बाहिर कौसी थियो, उत्तर देखिने। अर्थात् ६ -७ हजार किलोमिटर त्यही दिशामा नेपाल छ। म त्यही कौसीमा बसेर कफीका साथ किताब पढ्दै दिनको सुरुवात गर्थेँ। अब नेपाल फर्केपछि मलाई बिहान आफ्नो छतमा बसेर कफी खाँदा दिनहुँ छोरी वा ज्वाइँले बनाएर दिएको त्यो कफी कौसीमा बसेर खाएको सधैँ याद आउने छ। नेपालकै जस्तो गरेर चन्द्राले बनाएको दाल, भात, तरकारी र अचार अनि मोहीको लन्चपछि दिउँसो सधैँ कतै न कतै घुम्ने योजना बन्थ्यो। दिनभरिको घुमाइपछि साँझ घर फर्किँदा भान्साबाट छोरी र ज्वाइँले पकाउने नयाँ–नयाँ अस्ट्रेलियाली परिकारको बास्ना र डाइनिङमा हुने गफले हामी सबैलाई व्यक्तै गर्न नसकिने सुखद आभास भएको वातावरण बन्दथ्यो। प्रत्येक दिन हामी मध्यरातसम्म गफ्फिएर वा फिल्म हेरेर बस्थ्यौँ। सोले र पिके फिल्म हेरेका रातले नेपालमा एक्लै बसेर राति फिल्म हेर्दा हाम्रो मन डार्विनको मिल्नरमा पुग्ने निश्चित छ।
डार्विनका समुद्री किनारमा पुग्नु त मिल्नर बसाइका क्रममा हाम्रा नियमित गन्तव्य नै बने। कि बिहान मर्निङ वाकको निहुँमा पुग्ने कि साँझको हावा खान। सी साइड (Sea side) सम्म कारमा पुगी कार पार्किङमा छोडेर हामी सफा कालोपत्रे फुटपाथमा हिँड्दै समुद्रमा खुट्टा चोपल्न पुग्थ्यौँ। यसरी पटक पटक कलेन बीच (Cullen Beach), लाराकिया (Larrakeyah) र नाइटक्लिफ (Nightcliff) का सुरम्य तटमा समय बितेको पत्तै भएन। नाइटक्लिफमा त हामी पटक–पटक पुग्यौँ; एकपटक त बालुवा र पानीमा यसरी रमाइयो कि सुरुमा पानी पर्न सुरु गर्दा ओत खोजेका हामी पछि शरीरको एक त्यान्द्रो कपडा पनि ओभानो नरहने गरी पानीका छालमा रमायौँ। समुद्र एक्कासि बढेर आउँदा तानेको छालले कान्छी छोरी हेमशिखाको एउटा चप्पल त्यहीँ सदाका लागि बगाएर लग्यो। हेमशिखाले सम्झनास्वरूप अर्को एउटा चप्पल जतनले लिएर आई।
ज्वाइँ र म वाकमा इस्ट पोइन्ट (East Point) गयौँ । अनि अर्को एक दिन ज्वाइँ, चन्द्रा र म ब्रिन्किन (Brinkin) गयौँ। वास्तवमा East Point र Brinkin का morning walk गरिने गोरेटाहरू डार्विनको अर्को अनुहार रहेछन्। यहाँ पर्यटकहरू दोस्रो विश्वयुद्धका अवशेष, जापानी बम आक्रमणका चिन्ह र खुला समुद्र हेर्न पनि आउँदा रहेछन्। म यिनै इतिहास र भूगोल जोडेर कथा सुनाउने ढुङ्गामा राखिएका चिन्हका फोटो खिच्दै हिँड्थेँ, “यो ठाउँ किन यति रणनीतिक थियो?” भन्ने प्रश्न मनमा खेलाउँदै।
अनि Cullen Beach र Nightcliff डार्विन आउने हरेक पर्यटक पुग्ने ठाउँ नै रहेछन्। यहाँ मानिसहरू समुद्रमा पौडी खेल्नभन्दा पनि, समुद्रसँगै हिँड्न आउँछन्; सूर्यास्त हेर्न, कुकुर डुलाउन, चुपचाप बस्न। चन्द्राले यहाँ फोटो खिच्दा बारम्बार भन्थिन्, “यहाँ pose चाहिँदैन, बस उभिँदा पनि फोटो राम्रो आउँछ।” र फोटो खिचाइहाल्थिन्; तर पोज दिएर! ममीलाई नयाँ ठाउँ आयो कि पोज दिइहाल्नुपर्ने भनेर कान्छीले जिस्काउँथी!
एक साँझ डार्विन वाटरफ्रन्टको 'वेभ लागून'मा टहलिँदै गर्दा अचानक आकाशबाट बाल्टीबाट घोप्ट्याएझैँ पानी दर्किएको त्यो साँझ म कहिल्यै बिर्सन्नँ। हामी बसेको ठाउँबाट समुद्र किनार हेर्न टाढै पुगेको हेमाङ्क बतासे ठुलो पानीले आँखा नै हेर्न नमिलेर पनि दौडेर रुखको ओतमा आउनुपर्दा ऊ चिप्लेर लड्यो। हामी एउटा विशाल रुखमा ओत लाग्न बसेका थियौँ। पछि पानीले त्यहीँ सबैजना भिजिसकेपछि पनि रमाइलो सम्झनाका लागि “गुलियो जेरी …”तिमी त मेरी हौ” बोलको गीतमा हामीले 'टिकटक' बनाउँदाका ती पल कहिले बिर्सिन सकिन्छ होला र!
खासमा हामीले डार्विनलाई कुना–काप्चासम्म नियाल्ने मौका पायौँ। कोस्टल रिजर्भ, लि पोइन्ट र होम्सका शान्त सुसेलीदेखि लिएर विसार्ट र चार्ल्स डार्विन नेसनल पार्कको प्राकृतिक मनोरम कुनाकुनासम्म हामी पुग्यौँ। अझ डार्विन सहरबाट बाहिर च्यानल आइल्यान्डसम्मको त्यो लामो ड्राइभले उत्तर अस्ट्रेलियाको भूगोल, प्राकृतिक वनस्पति र फराकिला र असाध्यै राम्ररी सम्भार गरिएका सडक, पुल र दैनिक जीवनका सामान्य कुरालाई पनि ध्यान दिएर निर्माण गरिएका पार्क, अनि बाटाभरि जताततै खानेपानी, शौचालय आदि सुविधाले अस्ट्रेलियाको विकास र पद्धतिमा आधारित सभ्यताको जानकारी दियो।
सम्झनाका अमेट छाप धेरै छन्। एजक्लिफ लाराकियामा त्यो छोरी ज्वाइँका साथीहरू र पारिवारिक जमघटको पिकनिक र सनसेट पार्कमा बिताएका राता साँझहरू हाम्रा सम्झनाका एल्बममा सधैँका लागि कैद भएका छन्। डार्विन भन्दा निकै टाढा लिचफिल्ड पार्कका वाङ्गी फल्स (Wangi Falls) र फ्लोरेन्स फल्समा गरिएको लङ ड्राइभ टुर, अनि हेमाङ्कले होवार्ड स्प्रिङ पार्कको पिङमा खेल्दै, कृत्रिम झरना र पोखरीमा नुहाउँदै रमाएका अनुभवले हामीलाई आफ्नै बाल्यकालको स्मृतिमा फर्काइदियो। क्याजुआरिना मलमा छोरीहरूले हामीलाई सपिङ गराउँदाको अनुभव होस् या टेरिटोरी वाइल्ड लाइफ पार्कमा कङ्गारूसँगको सामीप्य, हरेक क्षण उत्तिकै प्रिय रहे।
डार्विनमा सुरुमा थोरै समय बिताएर बढी समय यात्राको पछिल्लो भागमा नै डार्विनलाई दिने योजनाअनुसार हामी डार्विन पुगेको ४ दिनपछि सिड्नी उड्यौँ, छजना नै। माथि वर्णन गरेका अनुभव सिड्नीबाट फर्केपछिका पनि हुन्।
सिड्नीमा हामी रेल, बस, फेरी र क्रुजमै घुम्यौँ। Opal card ट्याप गर्दै हिँड्नु नै यहाँको पर्यटकको दैनिकी बन्दो रहेछ। ओपल कार्ड अर्थात् यातायातको भाडा तिर्न बस, ट्रेन र रेलका ढोकामा ट्याप गर्नु पर्ने पैसा हालिएको कार्ड। सी लाइफमा सार्क भ्यालीभित्र पानी मुनि माछासँग रमाउँदा र वाइल्ड लाइफ सिड्नी जूमा हेमाङ्कका ती अचम्म परेका आँखाहरू र लुना पार्कको त्यो ठूलो हाँसोले यात्रालाई थप जीवन्त बनायो। एक साँझ हामी डार्लिङ हार्वरमा fireworks हेर्न गयौँ। जब आतिशबाजी सुरु भयो, आकाशका रङ्गहरू पानीमा प्रतिविम्बित हुँदा लाग्थ्यो, सिड्नीले हाम्रो स्वागतमा उत्सव मनाइरहेछ। 'द मोमो हब' र टाउन हल नजिकैको 'नमस्ते' रेस्टुरेन्टमा डिनर गर्दा परदेशमा पनि आफ्नै माटोको स्वाद र सुगन्ध पाइन्थ्यो। यहाँ मैले एउटा कुरा भन्न छुटाए धेरै छुट्छ! त्यो के भने यति टाढा आएपछि पनि नेपाली रेस्टुरेन्ट खोजेर जान मन लाग्ने र त्यहाँ पुगेपछि मोमो चाहिँ छुटाउनै मन नलाग्ने!
सिड्नीको यात्रा भनेकै रेल, बस र फेरीको एउटा व्यवस्थित लय रहेछ। Star Light Dinner Cruise ('स्टार्लाइट डिनर क्रूज') पानी जहाजमा चढेर फार्म कोभ र क्रमोर्न पोइन्टतिर सागरमा सयर गर्दा जहाजको डेकबाट सिड्नीका सहर नियाल्नुको आनन्द नै बेग्लै थियो। वास्तवमा Star Light Dinner Cruise पर्यटकका लागि रोमान्टिक र हाम्रो लागि सिड्नीलाई सागरबाट बुझ्ने मौका थियो। रातको अँध्यारोमा पानी जहाजको छानामा चन्द्रमा मुनि चन्द्रा र म बस्दा हामी पनि उत्तिकै रोमान्चित बन्यौँ। चन्द्राले समुद्री हावामा रातको चिसो बताससँग जुधेर धेरै फोटो खिचाइन्। अर्को दिन सिड्नी हार्वरका छालहरू छिचोल्दै म्यान्ली बीचसम्मको फेरी यात्रा गरेर बिताएका सुस्ताएका क्षणहरू झनै रोमान्टिक रहे।
एक दिन बिहानै ज्वाइँ र म हामी बसेको ब्रिजभ्यू टावरबाट सुरु गरेर हार्बर ब्रिजमाथि पैदल यात्रा गरी पुल पार गरेर, हामीले दिनहुँ झ्याल र कौसीबाट देख्ने समुद्रपारि ओपेरा हाउस पुग्यौँ। रोयल बोटानिकल गार्डेनका पुराना रूखहरूमा इतिहासको कथा सुनेर मर्निङ वाक पूरा गरी फर्क्यौँ। यति धेरै हिँडिएछ कि रमाउँदै फर्किने बेलामा हामीलाई ट्रेन चढौँ चढौँ लागेको थियो। अनि एक दिन दिउँसो वेस्टफिल्ड सिड्नी टावर चढेर त्यहाँबाट ३६० डिग्रीमा सहरलाई नियाल्दा सिड्नी खुम्चिएर एउटा सुन्दर चित्र जस्तै देखियो।
अर्को यात्रा छ अविष्मरणीय मस्तीको; बन्डी बीचमा। हामी सबैका लागि बन्डी यात्राको कौतूहलता नै थियो! पानी परेर बिगार्ला भन्ने पिर थियो, तर दिन यति घमाइलो बन्यो कि छालमा तैरिँदै पौडिँदा सबैजनाको रमाइलोको सीमा रहेन। खासमा सबैलाई उन्मुक्त बेपर्वाह मस्ती! दीपशिखाले सबैले बिन्दास भएर छालमा डुब्दै बग्दै रमाइलो गरेको तमासा क्यामरामा हाँस्दै हाँस्दै कैद गरी!
सिड्नीमा सहरदेखि टाढा एडमन्डसन पार्कको एक रातको बसाइपछि सिड्नी शो ग्राउन्डको विशाल एकोर (Accor) स्टेडियमले यहाँको विकासको उचाइ देखाइदियो। त्यसपछि हेमाङ्क र हेमशिखालाई डीएफओ (DFO) को सपिङले यात्रामा मनका रहरहरू पनि पूरा गरिदियो।
फर्केपछि दिन घुमघाममै बिते, माथि सुरुमै वर्णन गरेका अनुभव गरेर। छोटो समयमै डार्विन 'डार्लिङ' भइसकेको थियो। यसरी ३० दिनको बसाइ ३ दिन जसरी बित्यो। हाम्रा आफ्नै रमाउने र सम्झना लैजाने शैली पनि हाम्रो साँझको गफको विषय बन्थ्यो। चन्द्रा जहाँ पुगे पनि पहिले आँखाले फोटो खिचाउने फ्रेम खोज्थिन्: कुन कुनाबाट फोटो खिच्दा ठाउँ अझ सुन्दर देखिन्छ भनेर। हेमाङ्क जहाँ पुगे पनि भिनाजुको हात समातेर भन्थ्यो: "यो ठाउँ पनि आइयो! सिटी रेल पनि चढियो, मेट्रो पनि चढियो।" सालो केटोलाई हौसाउँदै उसको भिनाजुले "अब रकेट मात्र बाँकी रह्यो" भन्दा हामी सबै हाँस्थ्यौँ। हेमशिखा दिदीसँग विशेष पोजमा फोटो खिच्न हेमाङ्कलाई फकाउँथी। म भने जहाँ नयाँ सूचना, नयाँ सन्दर्भ, नयाँ कथा देख्थेँ त्यहाँ मोबाइलमा नोट गर्थेँ, क्यामेरा खोलेर फोटो खिच्थेँ; फोटो डकुमेन्टेसन गर्थेँ भोलि सम्झँदा, लेख्दा र बुझ्दा काम लाग्ने गरी।
अन्ततः फेब्रुअरी ७ मा जब छोरी दीपशिखा र ज्वाइँलाई अँगालो हालेर बिदा भयौँ, गहभरि आँसु र मनभरि अस्ट्रेलियाको यो तीस दिने सुन्दर चलचित्र लिएर हामी काठमाडौँ फर्कियौँ। छोरी र ज्वाइँले हामीलाई खुसी राख्न गरेको मिहिनेत यी शब्दमा अट्दैन। यी हामीले अनुभूति गरेका कुरा हुन्। जहाँ भए पनि, अन्ततः सबैभन्दा ठूलो सम्पत्ति परिवारको साथ र माया नै रहेछ। डार्विनको मिल्नरमा लुकेको पारिवारिक सामीप्यता, सिड्नीको चमकधमक, र क्यानबेराको अनुभव सबै सम्झना बनेर मनमा सुरक्षित छन्। यो यात्रा सकिएको छैन, बरु यादहरूको एउटा नयाँ शृङ्खला बनेर मनमा सधैँ बाँचिरहनेछ।
आई लभ यु डार्विन!
Wednesday, January 28, 2026
अबको राजनीतिले "हामी गर्छौं" भनेर मात्र पुग्दैन, "यसरी, यति समयभित्र, यो नतिजा दिन्छौँ" भनेर प्रमाणित गर्नुपर्छ
अबको राजनीतिले "हामी गर्छौं" भनेर मात्र पुग्दैन, "यसरी, यति समयभित्र, यो नतिजा दिन्छौँ" भनेर प्रमाणित गर्नुपर्छ
शासन र राज्यको प्रभावकारिता
शासन सञ्चालन र राज्यको क्षमताको कसीमा नेपालको अवस्था निकै कमजोर छ। विश्व मानचित्रमा नेपाल 'गभर्नेन्स इफेक्टिभनेस' मा ११७औँ, भ्रष्टाचार सूचकांकमा १०७औँ र आर्थिक स्वतन्त्रतामा १३१औँ स्थानमा पर्नुले के सन्देश दिन्छ भने नेपालमा 'सरकार' त छ तर त्यसले दिने 'सेवा र नतिजा' छैन। कागजमा हाम्रा नीतिहरू उत्कृष्ट छन् तर कार्यान्वयन पक्ष निकै फितलो छ। २०४७ सालको परिवर्तनले हामीलाई राजनीतिक अधिकार त दियो तर त्यसलाई हामीले चुस्त प्रशासन र नतिजा दिने राज्य प्रणालीमा बदल्न सकेनौँ। अबको शासन सुधारको प्रयासले भाषण र वास्तविकता बीचको यो खाडल पुर्नैपर्छ।
मानवीय विकास र आर्थिक हैसियत
विकास भनेको ठूला संरचना मात्र होइन, आम मानिसको जीवनस्तरमा आउने सुधार हो। तर मानव विकास सूचकांक (HDI) मा १४५औँ र प्रतिव्यक्ति आयमा १५०औँ स्थानमा रहनुले हाम्रो दयनीय अवस्था देखाउँछ। एसियामै गरिब देशहरूको सूचीमा चौथो नम्बरमा पर्नु संयोग मात्र होइन, यो लामो समयदेखिको गलत नीतिको नतिजा हो। विगत तीन दशकमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राख्न नसक्नु हाम्रो पुस्ताकै लागि ठूलो दुर्भाग्य बन्यो। अबको 'गभर्नेन्स' को मोडलले यी आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्छ।
अर्थतन्त्रको परनिर्भरता
हाम्रो अर्थतन्त्रको जग हल्लिएको छ। पछिल्ला ६ वर्षमा विदेशी लगानी ७० प्रतिशतले घट्नु र देशको १५–२० प्रतिशत जनसंख्या (भारतमा गएकालाई नगनेर) रोजगारीका लागि विदेशिन बाध्य हुनु चिन्ताको विषय हो। कुल गार्हस्थ्य उत्पादन (GDP) को २५–३० प्रतिशत हिस्सा रेमिटेन्समा निर्भर हुनुले हामी 'आत्मनिर्भर' नभई 'परनिर्भर' र 'अस्थिर' बाटोमा छौँ भन्ने देखाउँछ। युवा शक्ति बेचेर देश चलाउने मोडल दीर्घकालीन हुन सक्दैन। अबको आर्थिक एजेन्डाले स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्ने ठोस आधार तयार गर्नुपर्छ।
वातावरण र जनस्वास्थ्य
विकासको नाममा हामीले वातावरण र स्वास्थ्यमाथि खेलबाड गरिरहेका छौँ। वायु प्रदूषणमा विश्वकै सातौँ खराब देश हुनु र वातावरणीय कार्यसम्पादनमा १६५औँ स्थानमा पर्नु भनेको हामीले आफ्नै र भावी सन्ततिको स्वास्थ्यमाथि अन्याय गर्नु हो। दिगो विकास र जनस्वास्थ्यलाई प्राथमिकतामा नराख्ने हो भने भविष्य झन् महँगो पर्नेछ।
अन्तर्राष्ट्रिय छवि र गुमेको समय
विश्वसामु हाम्रो विश्वसनीयता पनि कमजोर देखिएको छ। प्रेस स्वतन्त्रता, शान्ति सूचकांक र राहदानीको शक्तिमा हामी धेरै पछाडि छौँ। यो हाम्रो कूटनीतिक र संस्थागत क्षमता कमजोर भएको प्रमाण हो। २०४७ सालपछि हामीले अमूल्य समय सत्ताको लुछाचुँडीमै बितायौँ। विश्व तीव्र गतिमा अघि बढ्दा हामी भने अलमलमा पर्यौँ।
निष्कर्ष
अन्त्यमा, यी तथ्याङ्क जति निराशाजनक छन् समाधानको प्रस्थान विन्दु पनि यिनै हुन्। अबको आवश्यकता भनेको शासन सञ्चालनलाई परम्परागत ढर्राबाट माथि उठाएर एक 'नतिजामुखी परियोजना' का रूपमा अघि बढाउनु हो। समाजशास्त्रीय अर्थशास्त्रको दृष्टिमा जब नेतृत्वले नागरिकको निराशालाई 'आशा' मा र राज्यको कमजोरीलाई 'प्रभावकारी डेलिभरी' मा बदल्ने स्पष्ट खाका पेश गर्छ तब मात्र समाजमा नयाँ ऊर्जा सञ्चार हुन्छ। हामीले खोजेको 'प्रोजेक्ट गभर्नेन्स' वा 'सुशासनको अभियान' ले यी राता सूचकहरूलाई हरियोमा बदल्ने सामर्थ्य राख्नुपर्छ। अबको राजनीतिले "हामी गर्छौं" भनेर मात्र पुग्दैन, "यसरी, यति समयभित्र, यो नतिजा दिन्छौँ" भनेर प्रमाणित गर्नुपर्छ। यदि यो विधिबाट अघि बढ्ने हो भने नेपाल बन्न सम्भव छ र त्यो हाम्रै पालामा सम्भव छ भन्ने विश्वास आम नागरिकमा जगाउन सकिन्छ। त्यसैले आउँदो आमनिर्वाचन मतपत्र खसाल्ने सामान्य कर्मकाण्ड मात्र होइन। यो त हाम्रो नियति बदल्ने अन्तिम मौका हो। अबको अग्निपरीक्षामा नागरिकले भावनामा बगेर होइन विवेकको कसीमा घोटेर नेतृत्व छान्नुपर्छ। जसले वर्षौंदेखिको यो 'असफलताको दुष्चक्र' तोड्ने ल्याकत राख्छ र जसको 'प्रोजेक्ट गभर्नेन्स' मा समस्याको गहिराइ नाप्ने अनि समाधान दिने स्पष्ट 'ब्लु-प्रिन्ट' छ उसैलाई सत्ताको साँचो सुम्पिनु हाम्रो दायित्व हो। अब अनुहार होइन एजेन्डा हेरौँ, भाषण होइन भिजन रोजौँ। किनकि अब पनि चुक्यौँ भने हामीसँग पछुताउने समय समेत बाँकी रहनेछैन।

