गौँथली’ चलचित्रको आलोचनात्मक विमर्श
कुनै कलाकृति कति सुन्दर छ भन्ने प्रश्नभन्दा अझ महत्त्वपूर्ण प्रश्न हुन्छ, त्यो सुन्दरताले हामीलाई के सोच्न सिकाइरहेको छ? कुनै कथा हेरेर आँसु आउँछ, मन छुन्छ र पात्रप्रति सहानुभूति जाग्छ भन्दैमा त्यसले सामाजिक रूपमा प्रगतिशील विचार बोकेको हुन्छ भन्ने छैन। कलाले कहिलेकाहीँ यति सुन्दर ढंगले पुराना विचार प्रस्तुत गर्छ कि हामी त्यसको वैचारिक आधारमाथि प्रश्न नै गर्दैनौँ। ‘गौँथली’ चलचित्रलाई हेर्दा यही असहज प्रश्न उठ्छ।
‘गौँथली’ स्वयं एउटा शक्तिशाली सांस्कृतिक बिम्ब हो। गुँड बनाउने, सन्तान हुर्काउने, घर जोगाउने र आँधीबेहरी आए पनि आफ्नो कर्म नछोड्ने चराको छविलाई नेपाली समाजले लामो समयदेखि त्याग, श्रम, धैर्य र पारिवारिक निष्ठाको प्रतीक बनाउँदै आएको छ। आदिकवि भानुभक्त आचार्यको ‘बधूशिक्षा’ देखि आजसम्मका अनेक सामाजिक र सांस्कृतिक आख्यानमा महिलाको असलपन यिनै गुणसँग जोडिएको पाइन्छ।
साहित्य र कला समाजको दर्पण मात्र होइनन्। ती समाजलाई हेर्ने हाम्रो दृष्टि निर्माण गर्ने वैचारिक शक्ति पनि हुन्। तिनले विद्यमान सामाजिक संरचनालाई चुनौती दिन सक्छन् तर त्यसैगरी पुराना मूल्य र सम्बन्धलाई अझ पवित्र, प्राकृतिक र स्वीकार्य बनाएर पुनःस्थापित पनि गर्न सक्छन्। त्यसैले ‘गौँथली’ लाई एउटा मार्मिक कथा, ग्रामीण जीवनको चित्रण वा महिलाको संघर्षको संवेदनशील प्रस्तुति भनेर मात्र प्रशंसा गरेर पुग्दैन। यसले महिलाको संघर्षलाई अन्ततः कहाँ पुर्याउँछ? मुक्तितर्फ कि सहनशीलतातर्फ? प्रश्न त्यहीँबाट सुरु हुन्छ।
हामीले गौँथली चराको प्राकृतिक व्यवहारलाई महिलाको अनिवार्य सामाजिक कर्तव्यमा किन अनुवाद गर्यौँ? यही प्रश्न ‘गौँथली’ चलचित्रको वैचारिक केन्द्रमा राखिनुपर्छ। चलचित्रले बालविवाह, लैङ्गिक विभेद, गरिबी र पितृसत्तात्मक हिंसाले महिलाको जीवनमा सिर्जना गर्ने पीडा देखाउँछ। तर यी सबै पीडाको अन्तिम समाधान फेरि त्यही महिलाले सहेर, मिलेर र परिवार जोगाएर बस्नु हो भनेर त्यस संरचनाभित्र बाँच्ने कला सिकाइरहेको छ।
अन्याय देखाउनु र अन्यायको विरुद्ध उभिन प्रेरित गर्नु एउटै कुरा होइन। यही ठाउँमा ‘गौँथली’ को सबैभन्दा ठूलो वैचारिक कमजोरी देखिन्छ। महिलाको घरपरिवार र जीवनलाई गुँडसँग तुलना गर्नु आफैँमा सुन्दर रूपक हुन सक्छ। तर हामीले अर्को गम्भीर प्रश्न पनि सोध्नुपर्छ, त्यो गुँड कसको हो? त्यसको मालिक को हो? गुँड बनाउने निर्णय कसले गर्यो? त्यसमा बस्ने वा नबस्ने अधिकार कसको छ? र यदि गुँड नै पिँजडा बनेको छ भने त्यसलाई अझ सुन्दर बनाइरहनु महानता हो र?
बालविवाह, जबर्जस्तीको सम्बन्ध, आर्थिक निर्भरता, सामाजिक नियन्त्रण र पुरुषप्रधान पारिवारिक संरचनाले महिलाको स्वायत्तता खोसिसकेपछि उनीबाट फेरि परिवार जोगाउने अपेक्षा गर्नु न्याय होइन। त्यो त उत्पीडित व्यक्तिमाथि नै उत्पीडनको व्यवस्थालाई जोगाउने जिम्मेवारी थोपर्नु हो।
यहाँ त्याग एउटा सुन्दर शब्दबाट राजनीतिक उपकरण बन्छ। महिलाले आफ्नो इच्छा त्यागिन् भने महान, महिलाले आफ्नो अवसर त्यागिन् भने महान, महिलाले हिंसा सहिन् भने धैर्यवान र महिलाले परिवारका लागि आफ्नो जीवन समर्पण गरिन् भने आदर्श नारी मानिन्छ। परिवार जोगाउने जिम्मेवारी महिलाकै किन? सम्बन्ध बचाउने भार महिलाकै किन? घर भत्किन नदिन महिलाले मात्रै आफूलाई किन भाँचिरहनुपर्ने? जब त्याग एकतर्फी हुन्छ, त्यो सद्गुण होइन, सत्ता सम्बन्धको परिणाम मात्र हो।
यही कारणले ‘गौँथली’ को रूपकलाई भावुक आँखाले होइन, आलोचनात्मक दृष्टिले हेर्न आवश्यक छ। अझ गम्भीर प्रश्न विद्रोहको हो। उत्पीडनमा परेको पात्रले अन्ततः के गर्छ? उसले आफ्नो "भाग्य" लाई चुनौती दिन्छ कि त्यही "भाग्य" सँग सम्झौता गर्छ? उसले आफ्नो जीवनको निर्णय आफैँ गर्छ कि समाजले थोपरेको भूमिकालाई स्वीकार गर्छ? यदि कथा अन्ततः महिलालाई पुनः त्यही घर, त्यही सम्बन्ध र त्यही भूमिकामा फर्काउँछ भने हामी त्यसलाई मुक्ति कसरी भन्न सक्छौँ? पिँजडाको ढोका नखोली पिँजडालाई सुन्दर बनाउनु मुक्ति होइन।
हामीले नेपाली समाजमा महिलालाई स्वतन्त्रता दिनुभन्दा "असल महिला" बन्न सिकाउन धेरै समय खर्च गरेका छौँ। "असल महिला" भनेको सहने, मिल्ने, चुप लाग्ने, घर सम्हाल्ने, परिवार नटुटाउने र आफ्नो चाहना पछाडि राख्ने महिला हो भन्ने संस्कार अझै गहिरो छ। यस्तो अवस्थामा ‘गौँथली’ जस्तो बिम्बले अनजानमै त्यही संस्कारलाई थप सौन्दर्य प्रदान गर्न सक्छ।
कलाले पीडा देखाउनु कदापि पर्याप्त छैन। पीडाको कारण पनि देखाउनुपर्छ। अझ अगाडि बढेर त्यसलाई बदल्ने सम्भावना उजागर गर्नुपर्छ। नत्र पीडा मनोरञ्जनात्मक संवेदना बन्छ, दर्शक आँसु पुछेर घर फर्कन्छ तर त्यही विभेदकारी संरचना भने जस्ताको तस्तै रहन्छ।
यसको अर्थ ‘गौँथली’ लाई अस्वीकार गर्नु यसको कलात्मक मूल्य अस्वीकार गर्नु होइन। बरु यसको वैचारिक सीमामाथि प्रश्न उठाउनु हो। हामी चलचित्रलाई मन पराउन सक्छौँ। यसको अभिनय, दृश्य, कथा र भावनात्मक प्रभावको प्रशंसा गर्न सक्छौँ। तर सँगसँगै यो प्रश्न पनि गर्नुपर्छ: यसले हामीलाई सोच्न बाध्य बनायो कि फेरि त्यही पुरानो कुरा सुन्दर ढंगले विश्वास गर्न लगायो?
किनकि सबैभन्दा खतरनाक पिँजडा फलामको हुँदैन, कहिलेकाहीँ त्यो कविता, प्रेम, त्याग, संस्कार र सुन्दरताको आवरणले बनेको हुन्छ। त्यसैले ‘गौँथली’ को वास्तविक बहस गुँड बनाउने कि नबनाउने भन्ने होइन। बहस त यो हो, मानिसलाई आफ्नो गुँड आफैँ रोज्ने पूर्ण अधिकार छ कि छैन?
महिलाको मुक्ति भनेको उनीहरूलाई राम्रो गुँड बनाउन सिकाउनु होइन। मुक्ति भनेको उनीहरूले गुँड बनाउने कि आकाश रोज्ने भन्ने निर्णय आफैँ गर्न पाउनु हो। र, आलोचनात्मक कलाको काम पनि त्यहीँबाट सुरु हुन्छ, हामीलाई सुन्दर पिँजडामा मोहित पार्नु होइन, पिँजडा सुन्दर देखिनुको कारणमाथि प्रश्न गर्न सिकाउनु हो।

No comments:
Post a Comment