Tuesday, May 28, 2024

जाति प्रथा


जाति प्रथाको कुरा गर्दा धेरैले यसलाई धर्मसँग जोडेको पाइन्छ । धर्मलाई आधार बनाएर यसमाथि राजनीति गरिएको र राजनीतिक लाभ लिने शासकहरुले कसरी जातिप्रथालाई स्थापित गरे भन्ने बारे खासै चर्चा भएको पाइँदैन। आज मलाई यसै बारे कुरा गर्न मन लाग्यो । किन कुरा गर्न  लाग्यो ? यसको कारण छ । 

भर्खरैको कुरो हो । मसँग काम गर्ने एक जना युरोपेली व्यक्तिले मलाई फलानो थर दलित हो कि होइन, फलानो त दलित रहेछ नि हगि जस्ता प्रश्न सोध्यो । उसको पछिल्लो प्रश्नमा उसको बुझाइ सरासर गलत थियो । अर्थात् उसले जसलाई दलित भनेको थियो ऊ नेपाल सरकारले गरेको दलितको परिभाषा अनुसार पनि ऊ दलित थिएन । उसले कुनै पश्चिमाले लेखेको पुस्तक र यस्तै अन्य लेखहरुलाई आधार मानेर भनेको थियो ।
यो परिघटनाले मलाई नराम्ररी झस्कायो । अहिले यस्तै पश्चिमीहरुले लेखेका पुस्तक पढेर र वा कुनै अध्ययन नै नगरिकनर  गहिरा सोध बिनाका बतासे अखबारीय ज्ञानको भरमा हाम्रो नेपाली समाजमै पनि जाति बारे गलत ज्ञान स्थापित भैरहेको छ । अनि दुनियाँमा अर्को भ्रम पनि छ: त्यो के भने यस्तो सामाजिक संरचना वा व्यवस्था अन्यत्र कतै नभएर हिन्दु समाजमा मात्र छ भन्ने परेको छ । वास्तवमा यस्तै प्रथा क्रिश्चियन समाजमा पनि थियो । उनीहरूको समाजमा यो संरचना उहिल्यै हटेर गएकोले अहिलेकालाई इतिहासमा पढिने विषय भएको छ र इतिहास नपढ्ने पश्चिमीहरुले पनि चाल पाएका हुँदैनन् । उदाहरणको लागि जुन युरोपेलीले मलाई त्यो प्रश्न ग-यो उसैलाई आफ्नो मुलुकमा सयौँ वर्ष अघि त्यस्तै कठोर निकृष्ट व्यवस्था भएको मसँग भएको  कुराकानीको सिलसिलामा चाल पाएर ऊ आफैँले थप अध्ययन गरेर पुष्टि भएपछि मलाई इमेल लेखेर धन्यवाद दियो । 

अब म विषयमा प्रवेश गरूँ । र मैले यसो गर्दा यस विषयलाई सिद्धान्त र धर्म शास्त्रका अमूर्त कुरा गरेरभन्दा पनि व्यावहारिक पाटोबाट मलाई लागेका कुरा राख्न चाहन्छु । नेपाल र भारतमा अहिले जातीय व्यवस्था भनेर बुझिने जुन व्यवस्था छ, वास्तवमा इतिहासमा त्यो हिन्दु "वर्ण व्यवस्था" थियो । हिन्दु वर्ण व्यवस्थामा हिन्दु समाजलाई व्यवसाय अनुसार कडा रूपमा स्तरीकृत र व्यवस्थित गरिएको थियो । युरोपेली/पश्चिमी संसारलाई यो प्रणाली बुझाउन उनीहरुको मध्य युगमा स्थापित ईसाई युरोपको "इस्टेट व्यवस्था"सँग तुलना गर्न सकिन्छ । हिन्दू "वर्ण व्यवस्था" भनेको समाजलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र समुहमा बाँडेर बनाइएको चार-स्तरको  प्रणाली थियो भने यस्तै गरेर क्रिश्चियन युरोपेली समाजमा 'कुलीन', 'पादरी' र 'आमजन' समुहमा बाँडेर बनाइएको तीन-स्तरको "इस्टेट व्यवस्था" थियो । यी फरक फरक स्तरका समुहहरुले फरक फरक तर निश्चित पेसा गर्दथे । कुलीनले शासन गर्दथे, पादरीले चर्च सम्हाल्थे, आमजनले खेतीपाती, व्यवसाय र अन्य सेवाका कामकाज गर्दथे ।  र यता हिन्दु समाज र उता क्रिश्चियन समाज दुवैतिर एक पुस्ताबाट अर्को पुस्तामा पितृवंशीय रेखाबाट उही पेसालाई कुशलतापूर्वक कायम गरेर सारिन्थ्यो । अर्थात्  ब्राह्मणको छोरा ब्राह्मण, क्षेत्रीको छोरो क्षेत्री यस्तै यस्तै र उता कुलीनको छोरो कुलीन, पादरीको छोरो पादरी र आमजनको छोरो आमजन । 

ब्राह्मणहरू सामाजिक तहको शीर्ष स्थानमा थिए। तिनीहरूको पेसा भनेको पुरोहित, शिक्षक वा  राजा/शासकहरूको सल्लाहकार बन्नु हुन्थ्यो ।  यो ब्राह्मण तहसँग उताका मध्य युगिन क्रिश्चियन युरोपका पादरीलाई तुलना गर्न सकिन्छ । क्षेत्रीहरू राजा/शासक/सैनिक हुन्थे । मध्य युगिन युरोपका कुलीन वर्गलाई क्षेत्रीसँग तुलना गर्न मिल्छ । वैश्यहरू किसान, व्यापारी र व्यापारी थिए। शुद्रहरू कडा परिश्रम गर्ने कामदारहरू थिए।  युरोपका 'लेबोरेटोरिस' वा श्रमिक वर्ग शुद्रसँग तुलनायोग्य थिए ।

हिन्दु समाजको वर्ण व्यवस्था अनुसार हिन्दु समाजमा बस्ने हिन्दु बाहेक अन्य कुनै पनि व्यक्तिलाई "जातिविहीन" मानिन्थ्यो । यसको मतलब माथिको चार-स्तरीय श्रेणीमा उनीहरुको कुनै स्थान थिएन । उनीहरूलाई 'म्लेछ' भनिन्थ्यो। उदाहरणका लागि त्यो संरचनामा मुस्लिम वा ईसाई जातविहीन वा म्लेछ थिए। सामाजिक श्रेणीका हिसाबले "म्लेछ" शूद्रभन्दा तल थियो। उता मध्य युगिन युरोपमा "जमिन नभएका गरिबहरू" लाई यताको म्लेच्छसँग तुलना गर्न सकिन्छ । "जमिन नभएका गरिब"लाई युरोपमा ईस्टेट बाहिर राखिएको थियो र उनीहरूलाई कुनै राजनीतिक/सामाजिक अधिकार दिइएको थिएन ।


यसरी वर्ण व्यवस्था हिन्दुहरुको समाजमा जातभन्दा पनि पेशामा आधारित भएर सयौँ वर्षसम्म चलिरहेको थियो । 

जब अंग्रेजहरू हिन्दुस्थानमा आए उनीहरुले हिन्दुस्थानमाथि शासन गर्न हिन्दुस्थानका धर्म, संस्कृति, समाज आदिको अध्ययन गर्न थाले । यथास्थितिमा अंग्रेजहरु जो म्लेच्छ मानिन्थे तिनीहरुले हिन्दु समाजमा शासक बनेर लामो समयसम्म रजगज गर्न सम्भव देखेनन् । ब्रिटिशहरुको उपनिवेशवादी रणनीति "फुटाऊ र राज गर" थियो । त्यसकारण उनीहरुले 'वर्ण व्यवस्था'लाई 'जाति व्यवस्था'को रुपमा प्रस्तुत गरेर पुस्तक लेखाए, 'नयाँ ज्ञान' प्रचार गरे । जस्तै मनुस्मृतिलाई आफ्नो स्वार्थ अनुकुल अनुवाद गराए, लेखाए । जाति व्यवस्थाको सुरुआत गरिदिएपछि संगठित हिन्दु समाज विस्तारै विभाजित भयो । समाजमा छुवाछुत,विभेद र दमन तीव्र भयो । समाज टुक्रियो । यसरी अंग्रेजहरुले राजनीतिक स्वार्थमा वर्ण व्यवस्थालाई जाति व्यवस्थामा परिणत गरे। 


अहिलेलाई म भारतको सन्दर्भ यहीं छोड्छु । र नेपालतिर लाग्दछु । 


हिन्दुस्थानमा अंग्रेजले शासन गरिरहेकै बेला नेपालमा जहानियाँ राणा शासन थियो । राणाहरुले नेपाली जनता माथि शासन गर्न अंग्रेजबाट सिकिरहेका थिए ।  प्रधानमन्त्री जङ्गवहादुर राणा बेलायती शासकको औपनिवेशिक सिद्धान्त: "फुटाऊ र राज गर" बाट धेरै प्रभावित थिए। जब प्रधानमन्त्री जङ्गवहादुर राणा बेलायतको भ्रमणबाट फर्के तब उनले सन् १८५४(वि.स. १९१०) मा मुलुकी ऐन जारी गरे । जसरी अंग्रेजहरुले भारतमा वर्ण व्यवस्थालाई नयाँ व्याख्या गरेर हिन्दु समाजलाई विभाजन गरे त्यसरी नै जङ्गवहादुरले वर्ण व्यवस्थाको संरचनालाई मनुस्मृति आदिलाई आधार बनाएर नयाँ ढंगले परिभाषित गरे । जङ्गवहादुरको मुख्य उद्देश्य भनेकै परम्परागत नेपाली समाजको वर्ण व्यवस्थालाई जातिको आधारमा विभाजित गरेर समाजलाई टुक्र्याएर कमजोर बनाई शासन गर्नु थियो । अर्को महत्वपूर्ण कुरा उनले शासकवर्गलाई युरोपमा जस्तै पहिलो श्रेणीमा राख्नु थियो । त्यतिबेला सम्मको परम्परागत हिन्दु वर्ण व्यवस्थामा क्षेत्रीहरु ब्राह्मण पछि दोश्रो श्रेणीमा पर्दथे । अनि उनले शासक वर्गले कुनै अपराध गरे दण्ड नलाग्ने वा न्यून सजाय हुने पनि बनाउन चाहन्थे । जङ्गवहादुरको नयाँ जाति व्यवस्थामा पनि चार तहहरू थिए जसमा उनले क्षेत्रीलाई ब्राह्मणसँग राखेर शासक वर्गलाई पहिलो स्थान दिलाएका थिए भने ब्राह्मणलाई पनि सँगै उही श्रेणीमा राखेर ब्राह्मणलाई आफ्नो मुठ्ठीमा लिएका थिए ।


मुलुकी ऐन अनुसार पहिलेको वर्ण व्यवस्थाको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई हटाएर नयाँ चार वटा श्रेणी बनाइए: १. तागाधारी, २. मतवाली, ३. पानी नचल्ने तर छोई छिटो हाल्न नपर्ने र ४. पानी नचल्ने र छोई छिटो हाल्नु पर्ने  । तागाधारीमा बाहुन र क्षेत्रीलाई राखियो । अर्थात् काँधमा जनै भिर्नेहरु जति यो समुहमा परे । मतवालीमा पहिल्यैदेखि जाँड, रक्सी खाने गरेका र जनै नभिर्नेहरुलाई पारियो । परम्परागत हिसाबले खेती किसानी वा व्यापार भन्दा पनि कडा परिश्रम गरेर जिविका चलाइरहेका समुहलाई फुटाउन पानी नचल्ने तर उनीहरुसँग छोइएपछि शुद्ध हुन नपर्ने र पानी पनि नचल्ने, छोइएपछि शुद्ध हुन पर्ने गरी दुई थरी पानी नचल्ने अछुत जाति बनाइयो । 


यसरी हिन्दु समाजको वर्ण व्यवस्थालाई जङ्ग वहादुरले अंग्रेजले जस्तै "फुटाऊ र राज गर" नीति अँगालेर कानुनी रूपमा नै जातीय व्यवस्थालाई संस्थागत गरे । जङ्ग वहादुरको ऐनले वि.स. १९१० देखि वि.स. २०१९ सम्म सय वर्षभन्दा बढी नेपाली समाजलाई घृणा, विभेद र तिरस्कारको सम्वन्धमा विभक्त ग-यो । इस्लाम मुलुकहरु जस्तो नेपाल धार्मिक कानुनले राज्य गरेको मुलुक कहिल्यै थिएन, होइन । उनले धर्मशास्त्रलाई आधार बनाएर जातकै आधारमा दण्ड दिने संहिता नबनाएको भए जाति व्यवस्थाले यति नराम्ररी जरा गाड्ने पक्कै थिएन ।

 

वि. स. २०१९ मा राजा महेन्द्र शाहले जङ्गवहादुरको जातीय मुलुकी ऐन (वि. स. १९१०) लाई विस्थापित गरी नयाँ मुलुकी ऐन जारी गरे । नयाँ मुलुकी ऐन (२०१९) मा महेन्द्रले जातीय व्यवस्थालाई गैरकानूनी घोषित गर्दै सबै जातिलाई समान जाति घोषणा गरे।  तर, नेपाली समाजमा जङ्गवहादुरको अमानवीय ऐनले स्थापित गरेको घृणा, विभेद र तिरस्कारको सम्वन्धले समाजलाई नराम्ररी विभक्त गरी जातीय विद्वेष फैलाई सकेको थियो जुन कुरा अझै पनि अज्ञानवस् वा अन्य राजनीतिक एवम् सांस्कृतिक सामाजिकीकरणका कारणले समाजका अनेकौँ व्यक्तिहरूले जङ्गवहादुरको ऐनले स्थापित निकृष्ट संस्कृतिलाई  पछ्याइरहेका छन् । 


नेपाल सरकारले दलित जातिलाई “नेपालको पुरानो दण्ड संहिता, मुलुकी ऐन (वि. स. १९१०) बमोजिम जातीय भेदभावको शिकार भएका र छुवाछुतको विभेद खेपेका जात र समुदायहरू" भनेर परिभाषित गरेको छ । पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मूलन तथा सजाय ऐन र नेपालको संविधान (२०१५) ले दलित जातिको उत्थानका लागि जातीय भेदभावलाई दण्डनीय अपराध भनेको छ । यसबाहेक, संविधानले राष्ट्रिय दलित आयोगलाई संवैधानिक निकायको रूपमा मान्यता दिएको छ र दलितहरूका लागि अवसर सुनिश्चित गर्न राष्ट्रिय दलित आयोग ऐन, २०१७ लागू गरिएको छ। यो सुखद कुरो हो । त्यसैगरी नेपालको पछिल्लो संविधानले राजनीतिक क्षेत्रमा सहभागिता सुनिश्चित गर्न समानुपातिक प्रतिनिधित्व प्रणालीमा दलित र अन्य बहिष्कृत समुदायका लागि निश्चित सिटहरू आरक्षित गरेको छ । 


सयौं बर्ष देखिका उत्पिडनको क्षतिपूर्तिको लागि आवाज उठाउन र दलितका मुद्दालाई सम्बोधन गर्नका लागि यो संविधानमा यो आरक्षण निश्चित समयलाई मात्र राखिनु पर्छ र त्यसपछि "दलित" पदावलीलाई संविधान, ऐन कानुन आदिबाट सधैंको लागि हटाउने तिर ध्यान दिन पनि दलित आन्दोलनकै अभियन्ताहरुले समेत सोच्न अति जरुरी छ । वास्तवकिता र व्यवहारमा हेर्ने हो भने अहिले रगत क्रमिक रुपमा मिसिई सकेको छ र "शुद्ध" जाति पाउन बिस्तारै गाह्रो हुँदै गएको छ । यो सामाजिक साँस्कृतिक परिवर्तन हो । हुन्छ । संविधानमा जातीय आरक्षण लामो समयसम्म राख्ने हो भने सभासद वा यस्तै राजनीतिक पदमा निर्वाचित हुनलाई जात हेरेर सजातीय विवाह गर्न र जातिवादका "नराम्रा" पक्षलाई बचाइ राख्न घुमाउरो पाराले प्रेरणा दिन्छ ! अनि 'दल्नेवाला' र 'दलिनेवाला' (दलित) मा विभक्त समाज सधैँ रहिरहन्छ । यो त ऐलेको युगमा झनै लाज मर्दो कुरो हुन्छ !

छाउपडी र ‘देउता’


छाउपडी प्रथाबारे थोरै गहन अध्ययन र धेरै बहस भएका छन्। केही कानून लागू भइसके पनि यसबारे राज्य, समाज र नागरिक अभियन्तामा समेत थोरै ज्ञान, धेरै अस्पष्टता र अनभिज्ञता छ। यो छोटो लेख नेपालको पश्चिम क्षेत्र, विशेष गरी कर्णालीमा रही गरेको वर्षौंको अध्ययन, स्थानीयसँग गरिएका कुराकानी र अनुभवका आधारमा तयार गरिएको छ। 

के हो छाउपडी? 
महिनावारी र छाउपडी एउटै वा उही अर्थ दिने अवधारणा होइनन्। उमेर पुगेका, तर रजोनिवृत्ति भइनसकेका महिलामा प्रत्येक महिना हुने प्राकृतिक गुण हो महिनावारी वा रजस्वला। महिलामा हुने जैविक प्रक्रिया हो यो। यसको आफ्नै जैविक महत्त्व छ। नेपाल भारतबाहेक अन्य समाजमा पनि महिनावारीकै कारण महिलामाथि गरिने विभेदका अभ्यास छन्। छाउपडी नेपालको निश्चित भेग र समुदायमा महिला महिनावारी हुँदा व्यक्ति, परिवार वा समाजले पालना गर्दै आएको प्रथा हो। छाउपडी समाज निर्मित (सोसल कन्स्ट्रक्ट) अभ्यास या कुपरम्परा हो।

छाउपडी प्रथा मान्ने समाजमा महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन। यहाँ ‘घर’ भन्नाले परिवारसँग सधैँजसो बसिने बास हो। एउटै भवनको संरचनामा पनि त्यही भवनको सबै भाग ‘घर’ नहुन सक्छ। उदाहरणका लागि दुई वा दुईभन्दा बढी तले घरमा भुइँतलामा बस्तुभाउ राखिन्छ भने भुइँतला घर होइन, गोठ हो। छाउपडी प्रथा मान्ने समाजमा भुइँतलाको गोठमा महिनावारीका बेलामा बस्न दिइन्छ। यसले छाउगोठ हटाउने कामलाई झनै जटिल बनाइदिएको छ। यो बेग्लै प्रसंग भयो।  

छाउपडी प्रथाबाट छाउपडी अपनाउने महिला प्रत्यक्ष प्रताडित छन्। असाध्य दुःख, कष्ट, अपमान, अकल्पनीय अप्ठ्यारा उनीहरूले बेहोर्नुपरेको छ। यसका कुप्रभावबाट परिवार र समाज नराम्ररी थला परेको छ, यसको असर समग्र मुलुकलाई परेको छ। सबैले बुझेको कुरा के हो भने छाउपडी अवाञ्छनीय कुप्रभावी प्रताडनायुक्त प्रथा हो। यसलाई हटाउन ढिलो, तर गाह्रो भइरहेको छ।  

छाउपडी र ‘देउता’
अखबार, कार्यशाला, गोष्ठी, विभिन्न अवलोकनका प्रतिवेदन आदिमा छाउपडीमाथि भएका चर्चा परिचर्चा अध्ययन गर्दा यसबारे धेरैमा भ्रम र अल्पज्ञान भएको पाइन्छ। सतही ज्ञान र गम्भीर एवम् गहिरो अध्ययनको अभावमा छाउपडी प्रथाको कारण पितृसत्तात्मक समाजलाई ठहर्‍याइएको पाइन्छ। प्रामाणिक अध्ययनबिना लेखिने अखबारी लेख र समाचार, सामाजिक संस्थाका सतही प्रतिवेदनले यस विषयमा मिथ्या सूचना र भ्रामक कुरा छरेका छन्। सरकारी निकायबाट गरिएका प्रायजसो अध्ययनमा समेत सम्बन्धित विषयमा योग्यता पुगेका अनुसन्धातालाई संलग्न गराइएको छैन। यसले गर्दा अध्ययनहरू समस्याको जरोसम्म पुग्न सकेका छैनन्। फलस्वरूप यसको दिगो समाधानका लागि सरकारी र गैरसरकारी दुवै पक्षबाट परिणाममुखी नीति, रणनीति र कार्यक्रम बन्न सकेका छैनन्।

संसारका कैयौँ धर्म ग्रन्थमा महिनावारीबारे आ–आफ्ना दृष्टिकोण छन्। हिन्दु धर्मसम्वद्ध स्मृति र केही कथामा पनि महिनावारीबारे उल्लेख छ। छाउपडी प्रथा नभएका समाजमा पनि महिनावारी हुँदा पूजाकर्म, भान्सा आदि काम नगरिने चलन छन्। हिन्दु धर्मका केही विधिविधान र कथामा उल्लेख भए बमोजिमका चलन/अभ्यास हुन्। 

तर छाउपडी प्रथा हिन्दु धर्मका केही कथा र शास्त्रमा महिनावारीलाई लिएर महिलालाई निश्चित काममा गरेको निषेधभन्दा बिलकुलै फरक परम्परा हो। छाउपडी प्रथालाई सम्बोधन गर्न यी दुवै व्यवहारलाई एकै डालोमा हाल्दा समस्या झनै गुजुल्टिन्छ। यसको अर्थ केही हिन्दु विधानमा उल्लेख गरेबमोजिम महिनावारी बार्नु उचित छ भन्ने हुँदै होइन। त्यसको छलफल छुट्टै हुन आवश्यक छ। छाउपडी प्रथा स्थानीय ‘देउता’ परम्परामा आधारित छ। स्थानीय ‘देउता परम्परा’मा मानिने देउता र हिन्दु धर्मका देवता अलग–अलग अवधारणा हुन्। यी दुई अवधारणालाई भेद नगर्ने हो भने यो समस्यालाई समाधान खोज्नेभन्दा अझ जटिल बनाउने र फुकाउन झनै हम्मे पर्ने गरी गाँठो कस्ने काम हुन जान्छ।

छाउपडी प्रथाअनुसार महिनावारी भएको बेला घरभित्र पसे वा घर बसे देउता रिसाएर घर परिवारमा अनिष्ट आइलाग्दछ भन्ने अन्धविश्वास छ। यो परम्पराअनुसारको ‘देउता’ हिन्दु धर्मका ‘देवता’जस्तो मूर्ति र स्पष्ट स्वरूपको वर्णन छैन। यो अदृश्य शक्ति हो। ती अनिष्ट स्वयम् वा परिवारका सदस्यमा रोग व्याधि, दुर्घटनादेखि लिएर सम्पत्तिको नोक्सानसम्मका रूपमा आउन सक्दछन्। ‘देउता’ अवधारणा हिन्दु धर्ममा आधारित नभएर आत्मवाद (एनिमिजम)मा आधारित छ। यो प्रकारको देउतालाई ‘विशेष अनुशासन’मा बस्ने मानिसमा अवतरण गराइन्छ। 

यस्ता मानिस धामी र पुजारी (धामीका सहयोगी) हुने गर्छन्। ‘देउता परम्परा’बारे अरू धर्ममा झैँ देउताको वर्णन गर्ने अथवा देउता मान्ने विधिबारे ग्रन्थ वा पुस्तक छैनन्। ग्रन्थको अभावमा देउताको वर्णन गर्न गाह्रो भएता पनि देउता मान्ने समाजमा अपनाइएका व्यवहार र अभ्यासका आधारमा यस परम्पराबारे के भन्न सकिन्छ भने प्रत्येक व्यक्तिको अस्तित्व भौतिक जगत् र आत्मिक जगत् दुवैमा हुन्छ र त्यो पनि एकै पटक। भौतिक जगत् र आत्मिक जगतले एक अर्कामा प्रभाव पारिरहेका हुन्छन्।

‘देउता परम्परा’ अनुसार कसको कारणले के अनिष्ट वा विपत् आइलागेको हो र के विधि गरेर समाधान गर्न सकिन्छ भनेर खुट्ट्याउने काम देउताकै हो। धामीले कुनै व्यक्ति वा परिवारमा आत्मिक जगतले पारेको संकट टार्न आफूमा देउता अवतरण गराएर ती दुवै जगत्‌मा ओहोरदोहोर गर्न सक्छन् भन्ने मानिन्छ। छाउपडी प्रथाअनुसार महिनावारी भएकी कुनै पनि महिला छाउपडी मान्ने परिवारको घरभित्र बस्दा त्यो घरका देउता रिसाएर परिवारमा अनिष्ट आइलाग्छ भन्ने विश्वास समाजमा व्याप्त छ। अर्थात् घरमा देउता राखिने ठाउँ हुन्छन्, त्यहाँ देउता बस्छन् महिनावारी भएकी महिला घरभित्र बसेको देउतालाई थाहा हुन्छ र अनिष्ट हुनसक्छ। 

यो अनिष्ट आइलाग्ने विश्वास न हिन्दु धर्ममा आधारित छ, न त पितृसत्ताको संरचनामा। यो विश्वास आत्मवादमा आधारित देउता मान्ने परम्परामा छ। र, यो परम्पराले वर्जित गरेका काम गरेमा नर्कमा गइने होइन। यहीँको दैनन्दिनमा अनिष्ट आइलाग्ने त्रास हो। अर्थात् यो परम्परा यही लोकमा तुरुन्तै भोग्नु पर्ने ‘भयको सिद्धान्त’मा आधारित छ। भय भौतिक कुरो होइन। यसलाई सजिलै हटाउन सकिँदैन। भयकै कारण मानसिक अस्वस्थता मात्र होइन, चिकित्सा शास्त्रअनुसार रक्तचाप बढ्ने, ग्लुकोजको मात्रा गडबड हुने, टाउको दुख्ने, मुटु पोल्ने, अपच हुने आदि समस्या आउने हुन्छन्। छाउपडी प्रथालाई आत्मसात् गरेको समाजमा विविध कारण व्यक्तिमा आउने यस्ता अनेकौँ समस्यालाई देउता रिसाएर निम्तेको अनिष्ट भनेर बुझ्न पर्याप्त हुन्छ। यही रितका कारण मानिसका दैनिकीमा संयोगले घट्ने घरपरिवारका दुःखद परिघटना देउता रिसाएर निम्तेका थप ‘अनिष्ट’ अर्थिन पुग्छन्।

समाधानका उपाय 
आत्मवादमा आधारित देउता परम्परा अहिलेका हिन्दु, बौद्ध, इस्लाम, इसाईजस्ता धर्मभन्दा पनि धेरै पुराना हुन्। परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल गर्न सकिन्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्‌लाई चोट नपुर्‍याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ। महिनावारी भएका बेला घरमा पस्न, बस्न नहुने कारण घरभित्र देउता राखिने विश्वासले हो। यो विश्वासअनुसार देउता राख्न हिन्दु धर्ममा जस्तो पूजाकोठा बनाएर वा तस्वीर वा मूर्ति राखेर स्थान दिन आवश्यक हुँदैन। घरको खाँबो, छानो, दलिन कतै देउतालाई कपडाका रातासेता धजा बाँध्ने ठाउँ बनाएर पनि देउतालाई स्थान दिन सकिने विश्वास छ। कतै कतै धजा नै नबाँधे पनि महिनावारी भएका बेला घरमा नपसे घरमा देउता बस्छन् भन्ने मान्यता छ। देउता र यो परम्पराका अनुयायीका मध्यस्थकर्ता भनेका धामी नै हुन्।

सुधारका लागि सुझबुझ भएका समझदार धामीको नेतृत्वमा प्रत्येक गाउँमा सामूहिक देउता घर बनाउने, सबैका घरबाट देउतालाई यिनै देउता घरमा स्थानान्तरण गराउन प्रेरित गर्न सकिन्छ। यस्ता देउता घरलाई यस परम्परा अनुसार ‘थान’ भन्ने चलन छ। यो उपाय भनेको भइरहेकै चलनको व्यवस्थितीकरण हो। लोक परम्पराका कुरालाई समाधान गर्न स्थानीय लोककै विज्ञ, अगुवा र ‘जान्नेसुन्ने’लाई अगाडि लगाउनुपर्छ। यो सवालमा धामीहरू नै उपयुक्त स्रोत व्यक्ति र सहजकर्ता हुन सक्छन्। धामीलाई मनाएर उनीहरूकै सक्रिय र नेतृत्वदायी सहभागिता र भूमिकामा महिलालाई घरभित्र बस्ने वातावरण बनाइनुपर्छ। धामीहरूले नै विश्वस्त पारिदिएपछि समाज निर्धक्क बन्छ। अर्थात् उनीहरूमा देउताले अनिष्ट ल्याइदिने भय रहँदैन। यति भएपछि महिलाहरू महिनावारी भएका बेला घरमा बस्न अनिष्ट हुने छैन भनेर ढुक्क हुनेछन्।

यसरी छाउपडी प्रथालाई नरम तरिकाले हटाउन सम्भव छ। धामीहरूलाई साथ लिएमा सफलता पाइने अधिक सम्भावना छ। गाउँमा छाउगोठ भएकाले छाउगोठमा पठाउने चलन चलेको हो भनेर ती गोठ भत्काउनु वा यस परम्पराका संरक्षक धामी हुन् भनेर थान भत्काउनु अपरिपक्व कार्य हुनसक्छ। 

माथि वर्णन गरिएका धामीको विशेष कार्यमा समपूरक वा पूरक भूमिका निर्वाह गर्न स्वास्थ्य र  शिक्षाको अहम् महत्त्व हुन्छ। जब मानव जीवनमा आइलाग्ने अनिष्ट, हानी, बिगार आदि रहस्यमय बन्छन् र  भयको सिद्धान्तमा आधारित प्रथाले यस्ता परिणाम (छुइछाइ)लाई नै  कारक ठान्छन् भने यस्ता प्रथा हटाउन झनै मुस्किल हुन्छ। गाउँघरमा सामान्य स्वास्थ्य समस्याको पनि उपचार नहुँदा वा उपचार गर्ने सुविधासम्पन्न ठाउँ नहुँदा मानिस धामीको शरणमा पुग्न बाध्य हुन्छन् र यस्ता भयमा आधारित प्रथाले पुनश्च: सुदृढीकरणको मौका पाउने सम्भावना हुन्छ। यसकारण यी प्रथाले जरा गाडेका ठाउँमा राज्यले मनोचिकित्सकसहित सुविधा सम्पन्न स्वास्थ्य सेवा पुर्‍याउन ढिलो गर्नु हुँदैन। त्रासबाट उब्जेका रोग शारीरिक नभएर मानसिक हुन सक्छ। त्यस कारण शरीरमा आइलाग्ने कुनै पनि अस्वस्थता वा घरपरिवारका परिघटनालाई यसै प्रथाअनुसारको नियम उल्लंघनसँग जोडेर अर्थ्याउने हुँदा यसको यथोचित समाधानलाई मनोचिकित्सकको महत्त्वपूर्ण भूमिका रहन्छ।

यसैगरी, औपचारिक एवम् अनौपचारिक शिक्षा, सचेतना कार्यक्रम साथसाथै सञ्चालन गरिनुपर्दछ। यस्ता समस्या ज्वलन्त भएका प्रदेशका विद्यालय स्तरको पाठ्यक्रममा नै महिनावारी, छाउपडी प्रथा, आत्मवादमा आधारित परम्परा आदि पाठ्यवस्तु समावेश गरिनु पर्छ। अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरो के छ भने यस्ता समस्यालाई सम्बोधन गर्न सम्बन्धित तर फरक फरक विषयका दक्ष र विशेषज्ञबाट आवश्यक खोज, अनुसन्धान र सहकार्य गराउनु अपरिहार्य हुन्छ। 

उदाहरणका लागि महिनावारी स्वास्थ्य विज्ञानसम्बन्धी विषय हो र छाउपडी मानवशास्त्र तथा समाजशास्त्रसम्बन्धी अवधारणा हो। यति गम्भीर कुरामा मानवशास्त्र तथा समाजशास्त्रका विज्ञ बेखबरजस्तै छन्। हाम्रोमा समस्या यो पनि छ–अनुसन्धान, विषयगत दक्षता र विशेषज्ञताको खोजी नै नगर्ने र टापनटिपन सतही काम गरेर नीति, रणनीति वा कार्यक्रम बनाउने। समाधानका लागि गर्नुपर्ने कुरा असाध्य र अगम्य छैनन्, तर यसका लागि विषयकेन्द्रित सोधखोज गम्भीरताका साथ गरिनुपर्छ।

मस्टो


धेरैअघिको कुरो हो। अहिले भारतमा पर्ने कुमाउँ राज्यमा एक राजा थिए। राजा र उनकी रानीबाट सन्तान नभएकोले उनीहरू निकै चिन्तित थिए। त्यतिबेला उनीहरूले अहिले कर्णालीको मुगु जिल्लाको थार्प गाउँमा रहेको थानमा पुजिने देउताका धामीले आफूकहाँ ल्याइएका जस्तासुकै समस्या पनि समाधान गरिदिने कुरा सुने। चिन्तित राजारानीले कुमाउँबाट थार्पतिरको लामो यात्रा शुरू गरे। राजारानीको दुर्भाग्य के भइदियो भने उनीहरू गाउँ आई पुग्दापुग्दै थार्प थानका धामीको मृत्यु भयो। यो घटनाले विह्वल बनेका राजारानीको हालत देखेर थार्प थानका देउताले धामीलाई थोरै समयका लागि प्राण हालिदिएर बिउँताए। राजारानीले आफ्नैअगाडि धामी जागेको देखेपछि खुशी भई देउताको गुणगान गाएर धामीलाई आफ्ना वेदना सुनाए। देउताले धामीको माध्यमबाट राजारानीको पुकारा सुने। धामीलाई नै माध्यम बनाएर देउताले राजारानीलाई सन्तान दिने बचन दिए र उनीहरूलाई निश्चिन्त भएर दरबार फर्किन भने। केही समयपछि राजारानीका सन्तान भए। 

माथि वर्णित कथा पश्चिम नेपालको विशेषगरी कर्णालीका गाउँघरमा बुढापाकाबाट सुन्न पाइन्छ। पश्चिम नेपालका पहाडी बस्तीमा यात्रा गर्दै गर्दा देउराली, बाटाघाटा र गाउँका छेउछाउमा ध्यानपूर्वक आँखा लगाउँदा रुखका पोथ्रा, हाँगा, घरका खम्बा वा काठको लिंगोमा रातासेता कपडाका धजा बाँधिएको देख्न सकिन्छ। यस्ता रातासेता धजा गाउँघरमा कतै छानामा घुसारिएका, कतै भाटामा बाँधेको र कतै घरआँगनमै झुन्डाइएको दृश्य देख्न सकिन्छ। कतै–कतै धजा सँगसँगै घन्टका झुप्पा झुन्डाइएका भेटिन्छन्। यस्ता दृश्यले हामी खस समाजको गाउँबस्ती र यसैको सेरोफेरोमा उभिएको संकेत गर्दछन्। खस समाज अर्थात् मस्टो देउता मान्ने र पुज्ने समुदाय।

मस्टोको उद्भव
खस समाजमा मस्टोलाई 'देउता' मान्छन्। यहाँ देउता भनेको हिन्दु धर्मअनुसार पुकारिने 'देवता' होइन। हिन्दु धर्मअनुसार वर्णन गरिएका देवता मानिसजस्तै सशरीर रूपमा देखिन्छन्। मानिसजस्तै जन्मिने, सन्तान उत्पादन गर्ने र मान्छेले जस्तै जीवन जिउँछन्। मठमन्दिर र भक्तका घरमा यी हिन्दु देवताका मूर्ति, तस्वीर या चित्र देख्न पाइन्छ। तर मस्टो देउताको भने हिन्दु देवताको जस्तो कुनै आकृति, मूर्ति, तस्बिर वा चित्र हुँदैन। देवता राखिने घरलाई मन्दिर भनिएजस्तै मस्टो पुजिने ठाउँलाई माँडु वा थान भनिन्छ र थान भित्र मन्दिरमा जस्तो मस्टोको कुनै मूर्ति वा तस्बिर हुँदैन। मस्टो देउताको रूप कस्तो छ भनेर कतै दृश्यांकन गरिएको छैन। 

यति हुँदाहुँदै पनि चाखलाग्दो कुरो के छ भने मस्टोका १२ भाइ र नौ दिदीबहिनी रहेको बताइन्छ। यसअनुसार प्रत्येक मस्टोको पहिलो नाम फरक-फरक हुन्छ र पछिल्लो नाम मस्टो नै हुन्छ। जस्तै बुडु मस्टो, जुम्लाको बुडु गाउँलेले पुज्ने मस्टो। थार्प मस्टो, मुगुको थार्प गाउँलेले पुज्ने मस्टो। यसरी नामकरण भएका मस्टोका पहिलो नामलाई केलाउँदा उक्त नाम मस्टो अवस्थित ठाउँको नाम वा मस्टो आस्थावान‍्को कल्पनामा मस्टोको स्वभाव बुझाउने अर्थ बोकेको पाइन्छ। यथार्थमा मस्टोका २१ दाजुभाइ दिदीबहिनीहरू उही एउटै मस्टोका अनुयायीहरूले गरेका स्थानिक सरलीकरण हुन् भनेर बुझ्न सकिन्छ। 


पुर्खादेखिको एउटै थर, गोत्र र वंशको समुदाय बुझाउन 'कुल' शब्द प्रयोग गरिन्छ। कुल प्रणालीअनुसार प्रत्येक परिवार कुनै न कुनै कुलको सदस्य हुन्छ। जस्तै: थापा कुल, शाही कुल, रावल कुल र कामी कुल आदि। प्राचीन समयमा प्रत्येक कुलले सामूहिक हिसाबमा वर्षका कुनै निश्चित दिनमा कुलका अदृश्य संरक्षकलाई कुलको भलाइका लागि पुकारा गर्ने गरे। कुनै काम राम्रो होस्, खेतीबाली होस्, सन्तान असल होउन्, घरमा आगो नलागोस्, वनमा कुनै विपत् आइनलागोस्, टाढाको यात्रामा कहीँकतै दुर्घटना नहोस्, शत्रुले बिगार नगरून् आदि विषयमा यसरी अदृश्य शक्तिलाई पुकार्ने गरिन्थ्यो। कालान्तरमा सबै कुलले यसरी मान्ने र पुकार्ने संरक्षकलाई नै मस्टो देउता भनियो। 

इतिहासका अभिलेखहरूलाई अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्। हिन्दुहरूले पछि मस्टो परम्परा अँगालेका हुन्। अहिले हिन्दु धर्मावलम्बीहरूले मस्टो परम्परा पनि अवलम्बन गरेको पाइन्छ। यो अभ्यास सांस्कृतिक अन्तरघुलनले गर्दा भएको हो।

धामी: देउता र मानिस बिचको सेतु
मस्टो पूजाको थिति बसेपछि कालान्तरमा मस्टो र मस्टो अनुयायीबीच दोहोरो सम्बन्ध स्थापित गर्न एउटा माध्यमको आवश्यकता भयो। यसैअनुसार जो व्यक्तिले अदृश्य मस्टो देउता र व्यक्तिबीच वार्तालाप गराउन सक्छ, त्यस्तो चामत्कारिक व्यक्तिलाई धामी पदवी दिइयो। यहाँनेर रोचक कुरा के छ भने संसारमा प्रचलित कैयौँ धामीझाँक्री परम्परामा धामी बन्नका लागि धामीगुरुसँग तन्त्रमन्त्र विद्या सिक्नु आवश्यक ठानिन्छ। तर मस्टो परम्परामा मस्टो देउताद्वारा नै निश्चित व्यक्तिलाई धामी तोक्ने बताइन्छ। यसरी निश्चित व्यक्तिलाई धामी तोकिएको जनाउ दिने कार्य मस्टोका माध्यम मानिने धामीबाटै हुन्छ। कुनै कुनै अवस्थामा मस्टोको 'अदृश्य संकेत'द्वारा पनि हुन्छ भन्ने मानिन्छ। जस्तै: मस्टो देउता कुनै व्यक्तिको सपनामा आई मस्टोले ठहर गरेका धामीलाई उसले पालन गर्नुपर्ने नियम र आचरण सिकाउँछन्, ती व्यक्तिले राम्ररी नियम पालन गरेमा देउताले उसलाई धामी बनाउँछन्। 

धामी र देउताधारण
धामीको दिनचर्या अरू साधारण व्यक्तिले बिताएझैँ नै बित्छ। तर उसले चोखीनीतिका विशेष नियम र जिम्मेवारी पालन गर्नुपर्ने हुन्छ। धामीले टुपी पाल्नुपर्ने, आहारबिहारमा ध्यान दिनुपर्ने र 'छोईछाइ नगर्ने'लगायतका अभ्यास पर्छन् र जिम्मेवारीमा थानको संरक्षण, खस समुदायका मानिसहरूको हेराइकोराइ (परामर्श) गर्ने आदि पर्छन्। धामीले चोखीनीतिका नियम पालन नगरे उसले देउताधारण गर्न सक्दैन भन्ने ठानिइन्छ। प्रस्ट के हुनुपर्छ भने धामी पद हो । धामी आफैँमा देउता होइन, अर्थात् धामीले सधैँ देउताधारण गरेको हुँदैन। मस्टो अनुयायीले देउतालाई समस्या सुनाउन चाहेर धामीलाई अनुरोध गरेमा धामीले देउता बसाल्ने निर्णय गर्छन्। यसअनुसार धामी घरकै चोखो ठाउँमा विशेष आसनमा बस्छन्। यस्तो आसन चोखो राडी वा यस्तै प्रयोजनमा मात्रै प्रयोग हुने ओछ्याउनी हुन्छ। 

आसनको अघिल्तिर चामल र घण्ट राखिन्छ। धूप बालिन्छ। त्यसपश्चात् धामीले मस्टो देउतालाई आइदिन पुकारा गर्छन्। जब देउता आएर धामीको शरीरमा प्रवेश गर्छन्, घुँडा भाँचेर टुक्रुक्क बसेका धामी पलेटी कस्छन्, बेस्सरी काँप्न थाल्छन्। धामीको मुखबाट देउता बोल्छन्। अब देउता र त्यहाँ उपस्थित व्यक्तिबीच वार्तालाप सुरु हुन्छ। समस्या भएका व्यक्तिले समाधान खोज्न आफ्ना कुरा धामीमार्फत देउतालाई सुनाउँछन्। कुरा सुनिसकेपछि देउताले समस्या समाधानको लागि धामीको मुखबाटै विधि सुनाउँछन्। सामान्य समस्या भए कुनै विधि नगरी धामीको शरीरमा प्रकट भएका देउताले दिएको चामलका गेडा ग्रहण गर्दा मात्र पनि समाधान हुन सक्छ। यी देउताले दिएका चामलका गेडालाई देउताका दाना भनिन्छ। यो सम्पूर्ण प्रक्रियालाई धमेलो गर्ने अथवा देउता बसाल्ने पनि भनिन्छ। 

धामीको व्यक्तित्व र आचरण 
धामीको सबैभन्दा प्रमुख विशेषता लामो लटा पारिएको टुप्पी धारण हो। कोही धामीको टुप्पी लगभग १ मिटर वा योभन्दा पनि लामो हुनसक्छ। कोही धामीले देउता हेराउन आएकाहरूले चढाएको चाँदी वा सुनको तारले टुप्पी बेरेका हुन्छन्। देउता बसेको बेलाबाहेक अघिपछि कुनै पनि धामीले टाउको मुडुलो राखी टुप्पी देखाउँदैनन्। टोपी वा फेटा बाँधेर टुप्पी लुकाउँछन्। धामीले प्रायजसो दौरा, सुरुवाल कोट र टोपीजस्ता परम्परागत पोसाक लगाउँछन्। आजभोलि सर्ट, पाइन्ट र टोपी लगाएको पनि देख्न सकिन्छ। धामीले चोखीनीति कायम राख्नुपर्ने भएकाले अशुद्ध मानिइने खानेकुरा खाँदैनन्। उनीहरूले सार्वजनिक रूपमा खाना खाने ठाउँहरूमा खाँदैनन्। धामीले मरेको शरीरलाई छुनु हुँदैन र १३औँ दिनसम्म मृतकको घरमा प्रवेश गर्नु हुँदैन भन्ने ठानिइन्छ। यसैगरी, महिनावारी भएको महिलालाई छुन हुँदैन र सुत्केरी भएर ११ दिन नपुगेको महिलाले छोएको खाना र पानी खाए देउता रिसाउँछन् र धामीलाई संकट आइलाग्छ भन्ने अन्धविश्वास पनि छँदैछ। यस्तो बेला धामीले  देउतालाई खुशी पार्न कडा परिश्रम गर्नुपर्छ र देवताले धामीलाई आदेश गरेअनुसार दण्ड तिर्नुपर्छ भन्ने गरिइन्छ। 

मस्टो देउताको पूजा गर्ने पर्व 
वर्षभर मुख्यतः तीन वटा अवसरमा मस्टो देउताको पूजा गर्ने गरिन्छ। ती हुन्, वैशाखे पूर्णिमा, साउने पूर्णिमा  र मंसिरे पूर्णिमा। ठाउँ विशेष र कुल विशेषमा देउता पुजिने पूर्णिमा माथि उल्लेख गरिएको भन्दा १ र २ महिना तलमाथि पर्ने गरेको पनि पाइन्छ। पूर्णिमाको दिनमा सम्बन्धित कुलका सबै परिवारका सदस्यहरू आफ्नो कुल देउताको थानमा भेला हुन्छन्। थाननजिक घर भएका परिवारका सबै सदस्य थानमा सहभागी हुन्छन्। टाढाको गाउँमा बसाइँ सरेका परिवारबाट अनिवार्य रूपमा परिवारको कम्तीमा एक व्यक्तिले घरपरिवारको प्रतिनिधित्व गर्छन्। देउता पुज्न धामीलाई सहयोग पुर्‍याउन उही कुलबाट देउताद्वारा चुनिएको पुजारी हुन्छन्। पुजारीले थानमा पूजा गर्न सबै तयारी गर्छन्। प्रत्येक थानमा मूल धामी र उनका अधीनस्थ अरू धामी पनि हुन्छन्। अघिल्ला दिनदेखि नै सबै धामी कडा व्रत बस्छन्। तर व्रतको अवधिबारे देउता पुज्ने पूर्णिमाको पूजा गर्ने ठाउँ र कुलअनुसार कति अघिदेखि व्रत बस्ने भन्नेबारे फरक चलन छन्। 

धमेलो 
कुनै व्यक्तिले धामीलाई भेट्ने र देउतालाई आफ्ना समस्या राखेर समाधानका उपाय पत्ता लगाउने सम्पूर्ण प्रक्रियालाई धमेलो भनिन्छ। वर्षमा ३ पटक माथि उल्लिखित पूर्णिमामा देउता पुज्ने समारोहको मुख्य आकर्षण धमेलो हो। पुजारीले थानभित्र देउताको पूजा गर्नेबित्तिकै तिनै पुजारीले देउतालाई धामीमा प्रवेश गर्न फलाकी-फलाकी बोलाउँछन्। यसरी पुजारीले पुकारा गरेर बोलाएपछि देउता धामीको शरीरमा चढ्नासाथ धामी थरी/कम्बलमा चढ्छन्। धामी अब आफ्नो सम्पूर्ण शरीर बेजोडले हल्लाउन थाल्छन्। शरीरमा देउता चढेकोले उनी काँप्न थाल्दछन्। यस अवस्थामा धामी अब सामान्य व्यक्ति रहँदैनन्। त्यसपछि धमेलो सुरु हुन्छ। 

सयौँको भीडबाट प्रत्येक देउता मान्ने व्यक्तिले पालैपालो केही चामल र भेटी लिएर धामीलाई दर्शन गर्न जान्छन् र थरीमा दाना राखेर धामीलाई ठूलो सम्मानसाथ अभिवादन गर्छन्। वास्तवमा यस घडीमा आगन्तुकले त्यो धामीलाई केहीबेर अघिका आफूजस्तै सामान्य व्यक्तिलाई भेटिरहेको ठान्दैनन्। उनले देउता भेटेको ठान्छन्। उनले धामीका रूपमा रहेका देउतासँग आवश्यक परामर्श गर्छन्। आफ्नो समस्या वा आफ्नो घरपरिवारमा लागेको रोगदोख सुनाउँछन्। उपाय वा समाधान माग्छन् । धामीले घरमा फर्केर केही विधि गर्न सल्लाह दिन्छन्। आगन्तुकले धामीबाट दाना प्राप्त गर्छन्। धामीले हस्तान्तरण गरेका यी चामलमा समस्या समाधान गर्ने, व्यक्ति र परिवारमा समृद्धि ल्याउने शक्ति हुन्छ भन्ने ठानिइन्छ। 

तसर्थ, सहभागीहरूले पूरै विश्वाससाथ आफ्नो घरमा देउताले दिएका दाना लैजान्छन्। परिवारका प्रत्येक सदस्यले आफूलाई परेको कुनै पनि समस्याबाट छुटकारा पाउनको लागि ती देउताका दाना खाने गर्छन्। यदि आगन्तुक आफैँ बिरामी छन् भने उनी धामीको नजिक पुग्छन्  र धामीको अगाडि झुक्छन्। धामीले व्यक्तिको ढाडमा हात राख्छन्, उसको लामो टुप्पीले उसलाई रक्षात्मक प्रहार गर्छन्, घण्टीले उसको पिठ्युँ ढकढकाउँछन् र बिरामीलाई चामलका केही दाना फुकेर तत्काल खान दिन्छन् । बिरामी मानिस कृतज्ञतापूर्वक आफू निको हुँदै छु भन्ने पूर्ण विश्वास लिएर फर्कन्छन्। 

धमेलोमा यो परामर्श दिनभर चल्छ र राति अबेरसम्म पनि पाहुनाको आवश्यकताअनुसार चल्छ। यहाँ धामीको शरीरमा बस्छन् भन्ने ठानिएका देउता र अनेक व्यक्तिबीच हुने कुराकानी सबैको लागि खुला नै हुन्छ। यसको मतलब प्रत्येक व्यक्तिले सुनाएका समस्या र धामीले दिएका समाधान सबैले सुन्न पाउँछन्। थानमा धमेलो सकिएपछि मुख्य धामी र अन्य सहयोगी धामीहरू मन्दिरको आँगनमा प्रवेश गर्छन् र दमाईंहरूले बजाएको चर्को बाजामा नाच्न थाल्दछन्। अन्य समुदायमा जस्तो खस समुदायका धामीले ढ्यांग्रो बजाउँदैनन्। बरु खस समाजकै दमाईं जातिका मानिसलाई देउता पूजामा आमन्त्रित गरिन्छ र तिनीहरूले दमाहा, झ्याली, सनाहीजस्ता बाजा बजाउँछन्। 


देउता र धामीको शक्ति देखाउन धामीहरूले आगोमाथि हिँड्ने, उम्लिएको खाना पकाउने तेलमा हात डुबाउने, चामलको दानालाई हत्केलाभित्र मिचेर खरानी बनाउने र आगोमा तताइएको तातो रातो पन्युलाई सिधै आगोबाट निकालेर चाट्नेजस्ता 'चमत्कारी' खेल प्रदर्शन गर्छन्। मस्टो देवताले थप रमाइलो गर्न चाहे मूल धामीले देउताका वाहन जगाउँछन्। वाहन भनेका मस्टो देउताका सहायक हुन्। मूल धामीले वाहन जगाउन चाहे व्यक्तिको शरीरमा चामलको दाना छर्कन्छन्। त्यसपछि धामीले छर्केका चामलका दाना लागेका भीडका व्यक्तिहरू मैदानबीच आउँछन् र उनीहरू जोससाथ काँप्न थाल्छन्। यति बेला 'वाहन जागेका' व्यक्तिलाई सामान्य व्यक्तिजस्तो मानवजन्य होस हुँदैन भन्ने गरिन्छ। 

अब वाहनहरू पनि दमाईंले बजाएको बाजाको धुनमा नाच्न थाल्छन्। तिनीहरू पनि आगोमाथि कुद्छन् र रातो बलिरहेको कोइलाहरू नाङ्गो खुट्टाले कुल्चेर धुलोपिठो पार्छन्। अन्तमा, धामीले फेरि एकपल्ट वाहन जागेका सबैमा चामलको दाना छर्कन्छन्, तिनीहरू सबै शान्त हुन्छन् र सामान्य अवस्थामा फर्किन्छन्। यसरी धमेलोको रमाइलो समाप्त हुन्छ। पूर्णिमा पूजा खस समाजमा गाउँसरहमा लाग्ने अन्य मेलापर्वजस्तै हो। धमेलो हेर्न गाउँ र छिमेकी गाउँका सबैजसो जम्मा हुन्छन्। महिलाहरूले रोटी, पुरी पकाउँछन् र देउता मान्न आएका पाहुनालाई पेटभरि खुवाउँछन्। माथि भनिएका तीन पूर्णिमाको अवसरमा मात्र नभई अन्य कुनै पनि दिनमा धामीसँग विशेष अनुरोध गरी देउता बसाल्ने र परामर्श गर्न सकिन्छ, संक्षिप्त प्रकारको धमेलो गर्न सकिन्छ।   

बली र भेटी
मस्टोको अस्तित्व एउटा मात्र भएको भनेर चित्रण गरिएको छ, अर्थात् मस्टो देउता एउटा मात्र छन्। तर चाखलाग्दो कुरा के छ भने मस्टो फरक फरक रूपमा मानिएका र पुजिएका छन्। माथि नै भनिसकियो कि फरक मस्टोका स्थानिक नाम अनुयायीहरूले मस्टोलाई अर्थाएका स्वभावजन्य हुन्। मस्टोलाई चढाइने वस्तुको आधारमा मस्टोका मुख्य गरी दुई रूप छन्: दाह्रे मस्टो र दुधे मस्टो। दाह्रेको शाब्दिक अर्थ हो तीखा र विशाल दाँत भएको। दाह्रे मस्टोले पशुपक्षीको रगतको बली स्वीकार गर्छन् भन्ने ठानिइन्छ। दुधे मस्टोले जिउँदो जनावरको बलि स्वीकार गर्दैनन् भन्ने मानिइन्छ। दुधेको अर्थ दूध मन पराउने भनेर बुझिन्छ। दाह्रे मस्टो र दुधे मस्टोका थान फरक–फरक ठाउँमा हुन्छन्। देउता पुज्ने पूर्णिमाका दिन दाह्रे मस्टोको थानमा सयौँ बाख्रा, बोका कुखुरा ल्याई देउतालाई बली चढाउने गरिन्छ। पुजारीले बाख्रा समात्छन्, घाँटीमा दाह्रा गाड्छन्, रगत चुस्छन् र देउतालाई चढाउँछन्। यस्तो खालको अभ्यासलाई अचेल जनावर अधिकारवादीहरूले अनुचित र अमानवीय भन्दै आलोचना गर्न थालेका छन्।

अर्काथरीले दूध वा दूधमा पकाएका खानेकुरा चढाएर दुधे मस्टो पुज्दछन्। 

गाउँबस्तीमा मस्टो देउतासँगै विभिन्न किसिमका दुष्ट आत्माको पनि अस्तित्व हुन्छ भन्ने मानिइन्छ। अर्थात् हिन्दु परम्परामा विपरीत शक्ति राक्षस भएजस्तै मस्टो परम्परामा देउताको विपरीत शक्ति भूतप्रेत आदि हुन्। उदाहरणका लागि, पहिरोमा परेर वा अग्लो डाँडाबाट भिरमा लडेर वा रुखबाट खसेर कुनै पुरुष वा महिलाको असामयिक मृत्यु भएमा तिनीको आत्माले मुक्ति पाउँदैन र तिनीहरूको आत्मा भूत, प्रेतको रूपमा भौँतारिइरहन्छ। भूत, प्रेतको दुष्ट प्रभाव परेमा मानिसलाई टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्या हुन्छन्। कुनै व्यक्तिलाई त्यस्तो शंका लागेमा देउता बसालेको बेला धामीले त्यस व्यक्तिलाई भूतप्रेतको दुष्ट प्रभाव परेको ठहर गरी धामीले भूतप्रेतलाई पिठो, कालो कपडाको धजा र पहेँलो अक्षता आदि बली दिन लगाउँछन्। यसरी भूतप्रेतको दुष्ट प्रभाव हट्छ। यसरी मसाने, भूत, प्रेतजस्ता दुष्ट आत्माहरूलाई धामीले यथोचित विधि गरेर पन्छाउन सक्छन् भन्ने विश्वास यस परम्परामा छ। 

धामी चयन र निरन्तरता
धामीको मृत्यु भएमा मस्टो देउताले अर्को धामी आफैँ रोज्छन् भन्ने मानिइन्छ। धामीको मृत्युपछि एक वर्षसम्म जुठो बारिन्छ र अर्को धामी चयन हुँदैन। एक वर्षपछि मस्टो देउताले उही कुलबाटै अर्को व्यक्तिलाई धामीको रूपमा रोज्ने बताइन्छ। प्रायजसो धामीकै जेठो छोरा रोजिन्छ, तर जेठो नै वा धामीकै घरपरिवारबाट नरोजिन पनि सक्छ, तर कुल भने दिवंगत धामीकै हुन्छ। 

मस्टो उपासक: खस
मूलतः खस जाति नै मस्टो उपासक हुन्। आधुनिक नेपालमा खस जाति खासमा कर्णाली क्षेत्रका मूल बासिन्दा हुन्। मूल रूपमा तिनीहरू गैरवैदिक आर्य जनजाति थिए। इतिहासको अध्ययन गर्दा तिनीहरू खासमा काकेसाइड हुन्। तिनीहरू मध्य एसिया (काकेशस) बाट पहिले मध्य हिमालयको भेगतिर बसाइँ सर्दै आइपुगेका थिए र त्यसपछि पूर्वतिर सरेका थिए। नेपालको खसान भेग अर्थात् खसको भूमि, इतिहासको कुनै समयमा सबैभन्दा ठूलो साम्राज्य थियो। तिब्बतको पश्चिमी भाग, कश्मीरसम्मको सम्पूर्ण पश्चिमी पहाडी भेग, पूर्वमा कालीगण्डकी नदी र दक्षिणमा तराईसम्म खस साम्राज्य फैलिएको थियो। हाल खसहरू गण्डकी पारिदेखि महाकाली वारिसम्म छरिएर बसेका छन् भने हालको कर्णाली प्रदेशको पहाडी भेगमा खसको बाक्लै बसोबास छ। 

मानवशास्त्री डोरबहादुर विष्ट खस जातिबारे सोध गर्नकै लागि नेपालको खसान भेग बसे। उनका अनुसार खस जाति नेपालको सबैभन्दा ठूलो जनजाति हो। खस जातिको आफ्नै भाषा छ, आफ्नै भौगोलिक प्रदेश छ, आफ्नै परम्परा छन्। खसले कुनै देवीदेवता पुज्दैनन् र बाहुनलाई पुरेत मान्दैनन्। विष्टले आफ्नो सोधपुस्तकमा लेखेका छन्, "आजकल खस जातिका मानिसहरू हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट, सल्यान, दैलेख, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र पश्चिम नेपालका अन्य पहाडी भेगमा बस्छन्। तिनीहरूका थर अधिकारी, ऐडी, बस्नेत, भण्डारी, विष्ट, बुढा, बोहरा, धामी, खड्का, महत, महतरा, राउत, रावल, रोकाय, थामी, थापा आदि हुन्छन्। खसहरूले आफ्नै जातिका धामी परम्पराका देउता पुज्छन्। यिनीहरूका देउता मस्टो हुन्। तर हिन्दु परम्पराका देवदेवी कुनै पनि पर्दैनन्। यिनीहरूले वैशाखे पूर्णे, साउने पूर्णे र मुंसिरे पूर्णेमा थानमा जम्मा भएर आफ्नो देउतालाई धामीको माध्यमबाट पुज्छन्।"

प्राचीन हिन्दु लिखतहरूमा काश्मीर र नेपालबीचको भागलाई खस र यहाँका बासिन्दालाई खस भनिएको छ। प्राचीन हिन्दु अभिलेखअनुसार किराँतहरू झैँ खसहरूलाई पनि गैरहिन्दु मानिएको छ। अहिले खस समाजमा पाइने बाहुन, क्षेत्री, दमाई, कामी भनिने थरहरू खासमा वैदिक हिन्दु जाति होइनन्। देवताको यज्ञ लगाएर वैदिक पूजा गर्ने बाहुन, क्षेत्री आदिका थरी र यिनै थरीसँग मिल्ने मस्टो देउता मान्ने खस समाजका थरीबीच खास भिन्नता छ। 

कर्णालीको खस समाजमा हिन्दु धर्म मान्नेहरूले मनाउने चाडबाड र हिन्दु आर्यहरूले गर्ने तीर्थ, व्रत, वैदिक पूजाआजा र यज्ञको चलन पछिल्लो समयमा देखासिकीले गर्दा चलनमा आएको हो। अहिले सांस्कृतिक अन्तरघुलनले गर्दा सबै छ्यासमिस भएकोले गैरहिन्दु खस र हिन्दु आर्य छुट्याउन अलमल परेको छ। अझ पछिल्ला समयमा दक्षिणबाट कट्टर हिन्दु धर्म र तिब्बतबाट बोन-बौद्ध धर्मको प्रभावले मस्टो संस्कृति र यसको अभ्यासलाई प्रभावित गरेको छ। हिन्दु र बौद्ध धर्मको प्रभावको बाबजुद खसहरूको मस्टो पूजन र धामीप्रथा एक महत्त्वपूर्ण मौलिक संस्कृति हो। आधुनिकीकरणका कारण पश्चिम नेपालमा धामी संस्कृति लोप हुने जोखिममा छ। तथापि खसहरूले देखाएको अनुकूलन क्षमताले खस समुदायको सामाजिक जीवनमा मस्टो परम्पराले अझै पनि गतिशील भूमिका खेलिराखेकै छ।