डिकेन्द्र ढकाल
नेपाली हिन्दू परम्परा र स्वदेशी संस्कृतिहरूमा दशैं–तिहार जस्ता पर्वहरू राज्य र समग्र समाजका ‘सामान्य’ पर्व हुन्। तर कुलपूजा (पहाडमा देवाली, नेवारहरूमा डुगू पूजा) भनेको वंश–देवता (कुलदेवता/कुलायन)को पूजा हो। कुलपूजाको अधिकार एउटै रक्त–वंशसँग सीमित हुन्छ। अर्थात् ढकालले पौडेलको कुल्देउताको पुजा गर्दैन।
समाजशास्त्रीका लागि कुलपूजा एउटा रोचक विरोधाभास हो। यसले समाजलाई सूक्ष्म–इकाइमा बाँड्छ। उदाहरणको लागि उही क्षेत्री समाजभित्र पनि क्षेत्रीहरु फरक फरक कुलमा बाँडिन्छन्। तर संगसंगै उही कुलकाहरु एकठ्ठा हुन्छन्। अर्को महत्वपूर्ण कुरो के भने यसले मानव अस्तित्वबारे अहं प्रश्न उठाउँछ “मेरा पूर्वज् को हुन्?” यस अर्थमा कुलदेवता मिथकीय पात्र होइन, नेपाली परिवार संरचनाको समाजशास्त्रीय मेरुदण्ड हो; एउटा आध्यात्मिक ‘टोटेम’ जसमा वंशको इतिहास, बसाइँसराइ र जैविक एकता सङ्केत गरिएको हुन्छ।
अब एउटा जिज्ञासा उठ्दछ, यी कुलदेवता कहाँबाट आए? कुलदेवता भनेका वैदिक देवीदेवता (भगवती, विष्णु, शिव, ब्रह्मा) जस्तै "धर्मशास्त्रीय" होइनन्। मानवशास्त्रको दृष्टिले खस–आर्य परम्परामा कुलपूजाको सुरुवात बसाई सराईं र जीवन धान्ने संघर्षसँग जोडिन्छ। अधिकांश कुलकथाहरू समान ढाँचामा निर्मित छन्। एकजना पूर्वज यात्रा गर्दै हुन्छन्; विश्रामका लागि रोकिन्छन्; बास बस्छन्; त्यहाँ कुनै प्राकृतिक वा मानव निर्मित बस्तुले अनौठो व्यवहार देखाउँछ (जाँतो चल्दैन, हिंड्दा हिन्दै बाटो कता हराउँछ कता, नबुझिने र कहिल्यै नसुनिएको आवज सुनिन्छ, राति कुनै आकृति देखा पर्छ आदि)। यस्तो बेला जेठोबाठो जान्नेसुन्नेले आफै अर्थ लगाएर भन्छन्, “पूर्वजले यहाँ केही सम्झौता गरेका थिए, सम्बन्ध थियो, जानीनजानी हामीबाट गल्ती भएको छ। अब यसमा बास गर्ने पूर्वज्को आत्माले भोग वा पूजा मागेको छ।” यस 'आख्यान'को अर्थ गहन छ। कुलदेवता भनेको भू–आत्मा हो। पूर्वजले भूमि र यस्तै प्रकृति (नदीनाला, खोल्सा वन आदि)सँग सम्झौता गरेका थिए। पूजा गरेर वंशले भूमि/प्रकृतिसँग सुरक्षा–सम्बन्ध बनायो। अनि जंगली भूभागलाई आफ्नै ‘घर’मा रूपान्तरण ग-यो र प्रत्येक वर्ष निश्चित निश्चित दिनमा सुरक्षा–सम्बन्धका लागि कुल पुजाको थिति बसायो।
कुललाई नै पूजा गर्ने परम्परा अनुसार जब आचार्य, बस्नेत, दाहाल वा श्रेष्ठले आफ्नो कुलपूजा गर्छन्, मानवशास्त्रीय अर्थमा उनीहरू आफ्नो सामूहिक एकतालाई पूजा गरिरहेका हुन्छन्। देउता भनेको वंश–शक्तिको प्रक्षेपण हो। कुललाई नै पूजा गर्ने विधिले व्यक्तिलाई समूहबिना केही होइन भन्ने चेत निरन्तर बलियो बनाउँछ। अब के प्रश्न उठ्न सक्छ भने २१औँ शताब्दीमा पनि यो परम्परा किन टिकिरहेको छ? किनभने यसले आधुनिक राज्य–संस्थाले गर्न नसक्ने कामहरू गर्छ।
जातीय रूपमा जटिल समाजमा थर भ्रामक हुन सक्छ। थापा क्षेत्री पनि हुन्छन्, मगर पनि; श्रेष्ठका धेरै उप–वंश हुन्छन्। यस्तो अवस्थामा कुलपूजा प्रमाणीकरणको अन्तिम ‘ब्याकग्राउन्ड चेक’ को रूपमा काम गर्दछ। ठ्याक्कै पितृवंशीय रक्त–रेखा भएका (वा विवाह भएर आएका महिला) मात्र कुल पूजामा अटाउन सक्छन्।
नेवार डुगू पूजा वा खस देवालिमा बलिको मासु वा खिर आदि प्रसाद खान पाउने खान नपाउने नै रक्त–सम्बन्धको सीमारेखा हो। खान पाउने अर्थात् वंशभित्र; नपाउने भनेको वंशबाहिर । यो सामाजिक सीमा निर्धारणको शक्तिशाली माध्यम हो।
आधुनिक मनोविज्ञान र अदालत आउनुअघि, ‘कुल रिसायो’ अवधारणा शक्तिशाली सामाजिक अनुशासन थियो। जग्गा–झगडा, अनुचित व्यवहार वा परिवारमा कलह हुँदा वा बिरामी परे धामीले प्रायः दोष कुललाई दिन्थे। अनि कुल/परिवारका सबै मिलेर माफी माग्दै सामूहिक पूजा गर्नु नै समाधान मानिन्थ्यो। ‘रिसाएको देउता’ ले सम्बन्ध बिग्रेका मानिसलाई मिल्न वा नझगडिन बाध्य बनाउँथ्यो। यो संयन्त्रले विवाद समाधान र सामाजिक एकताको जिम्मेवारी धार्मिक भयको माध्यमबाट निर्वाह गर्थ्यो।
आधुनिक नव–अंधविश्वास
पछिल्ला
वर्षहरूमा ‘पितृदोष’, ‘देउता चढ्यो’, ‘अनिष्ट लाग्यो’ जस्ता दाबीहरू
अत्यधिक व्यावसायिक र भय–आधारित रूपमा प्रयोग हुन थालेका छन्। मानसिक रोगी,
हर्मोनल डिसब्यालेन्स भएका युवा, पोस्ट–ट्रामाटिक स्ट्रेस भएका महिला वा
सामान्य तनावका कारण थकित व्यक्तिलाई धामीले कुल देउता रिसाएको ‘देउता
लागेको’ भनी बलि, महँगो पूजापाठ, भोग, खोला–जंगलमा रातभरको विधि गर्न
लगाउँदा बिरामीलाई वास्तविक उपचारबाट बन्चित गराएर थप
आघात दिने गरेको र परिवारलाई आर्थिक शोषणको चक्रमा फसाएको पनि देखिएको छ।
कुलपूजा मूलतः वंश–इतिहास र सामाजिक एकताको प्रतीक भए पनि यसको नाममा
उत्पन्न भएको यो आधुनिक नव–अंधविश्वास अत्यन्त खतरनाक मोड हो। वास्तविक
समस्या जस्तै मानसिक स्वास्थ्य, घरेलु तनाव, आर्थिक अभाव, सामाजिक दबाबलाई
देख्नुभन्दा, कुल, पितृ/देउतालाई दोष दिने प्रवृत्तिले नेपाली समाजलाई
विवेकशून्य बनाइरहेको छ। यस्तो अवस्थामा कुलपूजालाई परम्परागत सांस्कृतिक
संरचनाको रूपमै राख्ने, तर यसको दुरुपयोग रोक्ने काम गर्न सचेत वर्गबाट
अत्यन्त आवश्यक छ। धामीको व्याख्या भन्दा चिकित्सकको
निदानलाई प्राथमिकता दिने; भयभन्दा विवेकलाई अगाडि राख्ने; र
वंश–परम्पराको सम्मानलाई वैज्ञानिक चेत र मानव–गौरवसँग मिलाएर
पुनर्परिभाषित गर्ने कार्य अहिलेको आवश्यकता भैसकेको छ।
कुलपूजा ‘धार्मिक अन्धविश्वास’ होइन; यो स्वदेशी संविधान हो। यसले समूहका सदस्य को हुन् भन्ने विधि तय गर्छ; आचरणलाई आध्यात्मिक दण्ड–डरको माध्यमले नियमन गर्छ; र तथा वंश–गौरवको हस्तान्तरण कार्यान्वयन गर्छ। कुलपूजाको अध्ययन भनेको नेपाली समाज संगठनको डीएनए अध्ययन गर्नु हो। ढुङ्गामा बस्ने आत्माको पूजा मार्फत नेपालीहरूले शताब्दीदेखि आफ्नो रक्त–वंश, इतिहास र सांस्कृतिक स्मृति सुरक्षित राख्न सफल भएका छन्। सँगसँगै आधुनिक नव–अंधविश्वासले प्रवेश गरेको वर्तमान समाजमा फैलिँदो अन्धविश्वासको बाढी रोकिएन भने कुलपूजा संस्कृति होइन, सामाजिक क्षयको माध्यम बन्ने जोखिम पनि उत्तिकै बढ्दो छ।

No comments:
Post a Comment